• १४ साउन २०८१, सोमबार

पर्यटनमन्त्रीसामु विमान परिचारिकाले बुझाए मागपत्र

blog

काठमाडौँ, साउन १४ गते । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) मा लामो समयदेखि कार्यरत विमान परिचारक र विमान परिचारिका (एयरहोस्टेस) ले सेवासुविधा नपाएको भन्दै सेवा वृत्तिको माग गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेसमक्ष आग्रह गरेका छन् ।

निगमका करार सेवामा कार्यरत एयरहोस्टेसको टोलीले आज पर्यटनमन्त्री पाण्डेलाई उहाँको कार्यकक्ष सिंहदरबारमा भेटेर मागसहितको १२ बुँदे सुझावपत्र बुझाएका हुन् । निगममा कार्यरत एयरहोस्टेस सेवा प्रवेश गर्दा करारमा रहेको र हाल पनि करारमै काम गरिरहनुपरेको उल्लेख गर्दै जीवनभर नै करार सेवामा बिताउनुपर्दा वृत्तिविकासको चिन्ता र आश्रित परिवार तथा सन्तानको समेत भविष्यलाई दृष्टिगतगरी सेवा वृत्ति गर्न उहाँहरूले माग गर्नुभएको छ ।

एयरहोस्टेसको सुझावपत्र बुझ्दै पर्यटनमन्त्री पाण्डेले मागप्रति सकारात्मक रहेको भन्दै आवश्यक पहल गर्ने बताउनुभएको भेटमा सहभागी ‘क्याबिन क्रू’ एसोसिएसन अफ नेपालका (सिक्यान) का अध्यक्ष प्रदा कार्कीले जानकारी दिनुभयो । आफूहरू कर्मचारी सञ्चयकोषदेखि विभिन्न सेवासुविधाबाट वञ्चित रहेको र अन्यायमा परेकाले समस्या सम्बोधन गरिदिन मन्त्री पाण्डेसमक्ष आग्रह गरिएको उहाँले बताउनुभयो ।

नेपाल एयरलाइन्समा एयरहोस्टेस लामो समयदेखि करारमा कार्यरत छन् । नेपाल एयरलाइन्समा करिब एकसय ७० एयरहोस्टेस रहेको अध्यक्ष कार्कीले जानकारी दिनुभयो । एसोसिएसनका अध्यक्ष कार्की नेतृत्वको करिब ३५ जनाको टोलीले मन्त्री पाण्डेसँग सामूहिक रूपमा भेट गरेको छ । 

नेपाल वायुसेवा निगम ऐन, २०१९ र निगमका कर्मचारीको सेवा, सर्तसम्बन्धी विनियमावली, २०५८ (संशोधन सहित) अन्तर्गत रही कार्यरत छन् । करार सेवामा नियुक्त गरिएका अन्य कर्मचारीभन्दा एयरहोस्टेसलाई भेदभावको व्यवहार गरिएको एसोसिएसनका अध्यक्ष कार्कीले बताउनुभयो ।

एयरहोस्टेस नेपाल वायुसेवा निगमका कर्मचारीको सेवा, सर्तसम्बन्धी (संशोधन) विनियमावली, २०५८ को विनियमबमोजिम ‘क्याबिन क्रू’ का रूपमा परिभाषित छ भने विमान चालक (पाइलट) हरू ‘ककपिट क्रू’ का रूपमा छुट्टै परिभाषाअन्तर्गत राखिएको छ । संसारका धेरै मुलुकमा पाइलट र एयरहोस्टेसलाई  ‘फ्लाइड क्रू’ का रूपमा परिभाषा गरी एउटै वर्गको सेवामा राखिएको भन्दै समान व्यवहार गर्न माग गरिएको छ ।

‘एयरहोस्टेसलाई कुनै सेवा र सुविधाको सुनिश्चितता नहुनु, दुर्घटनामा पर्दासमेत विमान परिचारक र परिचारिकाले कुनै खालको अशक्त वृत्तिको व्यवस्था नहुने, सेवामा रहँदा समेत बढुवाको व्यवस्था नहुनु, जिन्दगीभर एउटै पदमा उही रूपमा काम गर्नु, र निस्केको दिन खाली हात निस्कनुपर्ने’ विनियमावलीको व्यवस्थाले पीडा दिएको उहाँहरूको गुनासो छ । एयरहोस्टेसहरु १७ वर्षदेखि एउटै पदमा  कार्यरत छन् ।