• १४ साउन २०८१, सोमबार

जडीबुटी र गैरकाष्ठको निकासी दोब्बरले वृद्धि

blog

चिराइतो जिल्लाबाहिर निकासी गर्न ट्रकमा लोड गरिँदै । तस्बिरः चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, साउन १४ गते । ताप्लेजुङमा आर्थिक वर्ष २०८०–८१ मा जडीबुटी तथा गैरकाष्ठ प्रजाति दोब्बर बढीले निकासी भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा जडीबुटी तथा गैरकाष्ठ प्रजाति दोब्बर बढी निकासी भएको हो ।

डिभिजन वन कार्यालय ताप्लेजुङका अनुसार गत आर्थिक वर्षमा जडीबुटी तथा गैरकाष्ठ कुल ४३ हजार १३० किलोग्राम निकासी भएको थियो । अघिल्लो आर्थिक वर्ष २०७९–८० मा जडीबुटी तथा गैरकाष्ठ प्रजाति २३ हजार १३५ किलोग्राम मात्र निकासी भएको डिभिजन वन कार्यालयका वन अधिकृत परमेश्वर पासवानले जानकारी दिनुभयो ।

गत आवमा निकासी भएको जडीबुटीमा सबैभन्दा बढी धुपीपात २६ हजार ५०० किलोग्राम रहेको छ । यस्तै, सुनपाती सात हजार ५०० किलोग्राम, चिराइतो छ हजार २० किलोग्राम, भिरमह ३१० किलोग्राम र विषजरा ३०० किलोग्राम निकासी भएको छ । गैरकाष्ठअन्तर्गत लोक्ता एक हजार ५०० किलोग्राम र अर्गेली एक हजार किलोग्राम निकासी भएको डिभिजन वन कार्यालयले जनाएको छ ।

वन अधिकृत पासवानका अनुसार गत आवमा जडीबुटी तथा गैरकाष्ठ निकासीबाट दुई लाख ३४ हजार ४६० रुपियाँ राजस्व सङ्कलन भएको छ । त्यस्तै, अघिल्लो आवमा सबैभन्दा बढी १५ हजार किलोग्राम धुपीपात निकासी भएको छ । उक्त आवमा चिराइतो तीन हजार २८० किलोग्राम, मजिठो दुई हजार र सुनपाती ८५५ किलोग्राम निकासी भएको छ । 

गैरकाष्ठअन्तर्गत लोक्ता र अर्गेली भने समान एक–एक हजार किलोग्राम मात्र निकासी भएको थियो । अघिल्लो आवमा निकासी भएको जडीबुटी तथा गैरकाष्ठबाट एक लाख ११ हजार १८५ रुपियाँ राजस्व सङ्कलन भएको थियो ।