• १४ साउन २०८१, सोमबार

पर्सा ट्राफिक प्रहरीद्वारा दुई करोड ७६ लाख राजस्व सङ्कलन

blog

वीरगञ्ज (पर्सा), साउन १४ गते । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनबाट एक वर्षमा दुई करोड ७६ लाख ६१ हजार नौ सय ५४ रकम राजस्व सङ्कलन गरेको छ । कार्यालयले आव २०८०/८१ मा २७ हजार तीन सय ७२ सवारी साधनलाई कारबाही गरेर सो राजस्व सङ्कलन गरेको हो । 

आव २०७९/८० को तुलनामा आव २०८०/८१ मा पर्सामा सवारी चालकले ट्राफिक नियम उल्लङ्घन गरेर सङ्कलन हुने जरिवाना बापतको राजस्व एकै वर्षमा ६६ लाखले घटेको छ । पर्सामा अनलाइन प्रणालीमा आधारित ‘ट्राफिक भ्वाइलेन्स रेकर्ड सिस्टम’ लागू गरेर न्यूनतम मात्रै जरिवाना गर्ने नियमका कारणले जरिवाना बापतको राजस्व घटेको कार्यालयले जनाएको छ । यसअघि ट्राफिक नियम उल्लङ्घन गर्दा अधिकतम जरिवानाबाट सुरु गर्ने गरिन्थ्यो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख भास्कर खतिवडाले पर्सा ट्राफिकले गत वर्षदेखि अनलाइन प्रणालीमा आधारित ‘ट्राफिक भ्वाइलेन्स रेकर्ड सिस्टम’ लागू गरेकाले पनि राजस्वमा प्रत्यक्ष असर देखिएको बताउनुभयो । “विगतका वर्षमा फिल्डमा खटिने ट्राफिक प्रहरीले म्यानुअल ढङ्गबाट अधिकतम जरिवाना लगाउने गर्थे, जसको कारणले पनि जरिवाना बापतको राजस्व सङ्कलन धेरै हुने गर्थ्यो”, उहाँले भन्नुभयो, “अहिलेको ट्राफिक भ्वाइलेन्स रेकर्ड सिस्टमले न्यूनतम खालको ट्राफिक जरिवानाबाट सुरुवात गर्नुपर्ने भएकाले पनि जरिवाना राजस्व रकम केही घटेको देखिन्छ ।”

कार्यालयले आव २०७९/८० मा ३५ हजार पाँच सय ३४ ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई कारबाही गरेर तीन करोड ४२ लाख ६५ हजार जरिवाना सङ्कलन गरेको थियो । कार्यालयले आव २०८०/८१ मा १० हजार सात सय ५२ ट्रकका चालकलाई कारबाही गरेर एक करोड ५४ लाख ५१ हजार ५१ रकम जरिवाना सङ्कलन गरेको छ । 

त्यस्तै, सोही आवमा दुई हजार एक सय ६७ जिप, कार र भ्यानका चालकलाई कारबाही गरेर २० लाख २१ हजार सात सय ५२ जरिवाना बापतको राजस्व सङ्कलन गरेको छ । गत आवमा १२ हजार सात सय ७४ मोटरसाइकलका चालकलाई कारबाही गरेर ८८ लाख ७८ हजार पाँच सय ५१ जरिवाना राजस्व सङ्कलन गरेको छ । सोही आवमा दुई सय ३८ बसका चालकलाई कारबाही गरेर दुई लाख ३८ हजार जरिवाना सङ्कलन गरेको छ । यहाँ २१ जना ट्राफिक प्रहरीको दरबन्दी भए पनि काजमा ५८ जना खटिरहेका छन् । रासस