• १४ साउन २०८१, सोमबार

मन्त्री मनाङेलाई कारबाही गर्न पत्रकारहरूको माग

blog

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री राजीव गुरुङ (दीपक मनाङे)लाई कारबाही गर्न मागसहितको ध्यानाकर्षण पत्र बुझाइँदै । तस्बिर : गोरखापत्र

फडिन्द्र अधिकारी

लेखनाथ, साउन १४ गते । कास्कीका पत्रकारहरूले पत्रकारलाई कुट्नुपर्ने अभिव्यक्ति दिने गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री राजीव गुरुङ (दीपक मनाङे) लाई कारबाही गर्न माग गरेका छन् । 

सोमबार दिउँसो गण्डकी प्रदेशका कार्यवाहक मुख्यमन्त्रीसमेत रहनुभएका सामाजिक विकास मन्त्री विन्दुकुमार थापालाई भेटेर मन्त्री मनाङेलाई कारबाही गर्न मागसहितको ध्यानाकर्षण पत्र बुझाइएको हो ।

संसदीय पत्रकार मञ्च गण्डकी अध्यक्ष भरत कोइरालाले कार्यवाहक मुख्यमन्त्री थापालाई ध्यानाकर्षणपत्र बुझाउनुभएको हो । पत्रमा मन्त्री मनाङेका पछिल्ला गतिविधिप्रतिलाई लोकतान्त्रिक व्यवस्थाप्रतिको भद्दा मजाकको संज्ञा दिइएको छ । 

आइतबार मन्त्री मनाङेले कार्यकक्षमै बसेर अनलाइन खबर डटकममा कार्यरत पत्रकार अमृत सुवेदीले कुटाइ खानुपर्ने आशयको अभिव्यक्ति दिएको भिडियो सार्वजनिक भएको थियो । यातायात व्यवसायीको आन्दोलनका क्रममा व्यवसायीले पृथ्वीचोकमा दुई पत्रकारमाथि हातपात गरेको प्रसङ्ग जोड्दै मन्त्री मनाङेले  भन्नुभएको थियो, “त्यो अमृत सुवेदीले कुटाइ खानुपर्नेमा यी सोझा पत्रकारहरूले कुटाइ खाएछ ।”

शनिबार पत्रकार सुवेदीले मन्त्री मनाङेले कार्यकक्षमा गन्जीमात्रै लगाएर बसेको तस्बिरसहितको समाचार लेख्नुभएको थियो । मञ्चको ध्यानाकर्षण पत्रमा भनिएको छ, “मन्त्रीले पदीय मर्यादाको ख्यालै नगरी भित्री वस्त्र मात्र लगाएर मन्त्रालयको कुर्सीमा बस्नु आफै अशोभनीय कार्य हो ।”

गण्डकी प्रदेश सरकारले मन्त्रिपरिषद्का सदस्यले पालना गर्नुपर्ने आचारसंहिता विसं २०७४ चैत १२ गते प्रदेश मन्त्रिपरिषदबाट जारी गरेको थियो । प्रदेश मन्त्री परिषद्का सदस्य एवं सरोकारवालाका लागि जारी गरिएको ३० बुँदे आचारसंहिताको बुँदा नम्बर १२ मा भनिएको छ, “आफ्नो मन्त्रालयमा जाँदा वा औपचारिक कार्यक्रममा उपस्थित हुँदा भड्किलो रूपले प्रस्तुत हुने वा मद्यपान गर्नु हुँदैन ।”

समाचार लेख्ने पत्रकारको नाम नै किटेर मन्त्रीले दिएको अभिव्यक्तिले पत्रकारिता जगतलाई नै त्रसित बनाएको पत्रकार गंगाधर पराजुलीले उल्लेख गर्नुभयो । उहाँले नैतिक आचारणको ख्याल नगर्ने र पत्रकारमाथि गैरजिम्मेवार अभिव्यक्ति दिने मन्त्री मनाङेलाई कारबाही गर्नसमेत माग गर्नुभएको छ । 

ध्यानाकर्षणपत्र बुझ्दै कार्यवाहक मुख्यमन्त्री थापाले मन्त्री मनाङेको क्रियाकलापले दुःखी भएको उल्लेख गर्दै उहाँले गल्ती महसुस गरेको सुनाउनुभयो । मनाङबाट स्वतन्त्र उम्मेदवारी दिई निर्विरोध निर्वाचित मनाङे गण्डकी सरकारमा छ पटक मन्त्री बन्नुभएको छ ।

यसअघि उहाँले एकपटक मन्त्रालयका कर्मचारीमाथि नै हातपात गर्नुभएको थियो भने खेलकुद मन्त्री हुँदा एन्फा कास्की अध्यक्ष मिलन गुरुङलाई सार्वजनिक कार्यक्रममै हातपात गर्नुभएको थियो । नेपाल पत्रकार महासङ्घसहित पत्रकार संम्वद्ध सङ्घ, संस्थाले मन्त्रीको भनाइको आलोचना गर्दै कारबाही गर्न माग गरेका छन् ।