• १४ साउन २०८१, सोमबार

१५ जिल्लामा दुई लाख ७१ हजार गरिब परिवार सूचीकृत

blog

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ ।

काठमाडौँ, साउन १४ गते । सरकारले १५ जिल्लाका दुई लाख ७१ हजार छ सय ४० गरिब परिवारको अन्तिम सूची स्वीकृत गरेको छ । यही साउन १० गते बसेको मन्त्रिपरिषद् बैठकले ओखलढुङ्गा, कञ्चनपुर, गुल्मी, दोलखा, धनुषा, नुवाकोट, पर्सा, बारा, बैतडी, मनाङ, मुस्ताङ, रुपन्देही, सप्तरी, सर्लाही र सिन्धुपाल्चोकका गरिब परिवारको सूची स्वीकृत गरेको हो ।

बैठकले सरकारको नाममा दर्ता रहेको नवलपरासी (बर्दघाट सुस्तापश्चिम)को सरावल गाउँपालिका-५ मा तीन हजार छ सय ८० वर्गमिटर जग्गा १५ शय्याको आधारभूत अस्पताल भवन निर्माणका लागि उपयोग गर्न स्वीकृति दिएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।

सरकारले कपिलवस्तुको शुद्धोधन गाउँपालिकाअन्तर्गत बाँसखोर स्वास्थ्य चौकीको भवन निर्माणका लागि ०-१७-७ बिघा, लखरपाटा-खम्वागाडे-मुरमुरी-जामुन सुनकाँडा सडक निर्माणका लागि सर्खेतको बराहताल गाउँपालिका र पञ्चपुरी नगरपालिकामा रहेको राष्ट्रिय वनको नौ दशमलव ३६ हेक्टर र नवलपरासी (बर्दघाट-सुस्तापूर्व)लाई प्रशासनिक भवन निर्माणका लागि विनयी त्रिवेणी गाउँकार्यपालिकाको प्रशासनिक भवन निर्माणका लागि सोही गाउँपालिका-२ मा रहेको छ रोपनी राष्ट्रिय वनको जग्गा प्रयोग गर्न स्वीकृति दिएको छ ।

मन्त्रिपरिषद्ले झापा, मोरङ, सुनसरी, सिरहा, सप्तरी, बारा, सर्लाही, नवलपुर, गोरखा, नवलपरासी, कपिलवस्तु, बाँके, बर्दिया र कैलालीका १९ स्थानमा विद्युतीकरण विस्तार तथा चुहावट न्यूनीकरण आयोजनाअन्तर्गत ३३÷११ केभी सबस्टेसन निर्माणका लागि जग्गा प्राप्ति र तल्लो मोदी-नयाँ मोदी १३२ केभी प्रसारणलाइन आयोजनाअन्तर्गत पर्वतमा शून्य दशमलव नौ सय ४७ हेक्टर जग्गा प्राप्ति गर्न स्वीकृति दिएको छ ।

सरकारले विश्व बैङ्कबाट प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम-पहिलो चरणअन्तर्गत उपलब्ध हुने करिब १३ अर्ब ३३ करोड बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गरेको छ । बैठकले नेपाल विश्वविद्यालय पूर्वाधार विकास तयारी समिति (गठन) (दोस्रो संशोधन) आदेश, २०८१ स्वीकृत गरेको छ । यस्तै नेपाल वन सेवा, जनरल फरेष्ट्री समूहको राजपत्राङ्कित द्वितीय श्रेणीका एक कर्मचारीलाई प्रथम श्रेणस्का सहसचिव (प्रा) पदमा बढुवा नियुक्ति गरेको छ । रासस