• १४ साउन २०८१, सोमबार

असी लाख तिरेर अवैध बाटोबाट अमेरिका जाँदा ज्यानै गयो

blog

अमेरिकामा गोली लागेर मृत्यु भएका दीपक ओली । फाइल तस्बिर

राजु लामिछाने

रुकुमपश्चिम, साउन १४ गते । रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका–१० सेजेका ३० वर्षीय दीपक ओलीको अमेरिकामा हत्या भएको छ । अमेरिकाको टेक्सासमा आइतबार बिहान बन्धुकधारी लुटेरा समूहको आक्रमणबाट ओलीको हत्या भएको हो । 

मृतकका माइला बुवा खिमबहादुर ओलीले दीपक काम गर्ने टेक्सासको वेको सिटी नजिक हाइवे ३५ को एक्जिट ३४६ मा रहेको ग्याँस स्टेसनमा गोली हानेर हत्या गरिएको खबर पाएको बताउनुभयो । टेक्सासमै रहनुभएका सेजे गाउँका विवेक ओली मार्फत घरमा खबर आएको उहाँले जनाउनुभयो ।  

आइतबार बिहान करिब ५ बजेतिर बन्दुकधारी लुटेराहरूले गोली प्रहार गरेर हत्या गरेको र शव पोस्ट मार्टमको लागि अस्पताल लगिएको बुझिएको माइला बुवा खिमबहादुरले जनाउनुभयो । उहाँले गोली लागेर दीपकको घटनास्थलमै मृत्यु भएको उल्लेख गर्नुभयो । 

दीपकको हत्याको खबरपछि गाउँ नै शोकाकुल बनेको छ । बाँफिकोट गाउँपालिकाका अध्यक्ष जनककुमार बाँठा मगरले दीपकको हत्याको खबर सुनेपछि आफन्त, परिवारजन र गाउँ नै शोकमा रहेको बताउनुभयो । 

दीपकको घरमा बुवा, आमा, श्रीमती, छोरी र दुई भाइ हुनुहुन्छ । एक बहिनीको विवाह भइसकेको छ भने एक भाइ दिनेश वैदेशिक रोजगारीको सिलसिलामा कोरिया जानुभएको छ । कान्छो भाइ जनक अध्ययनको क्रममा काठमाडौँमा हुनुहुन्छ । 

मृतककी २६ वर्षीया श्रीमती विमला बुढाथोकी ओली भने ५ वर्षीया छोरी पढाउन दाङको तुलसीपुर बस्नुहुन्छ । गाउँमा बाख्रापालन गर्दै आउनुभएका मृतक दीपकका ५६ वर्षीय बुवा लिलाराम ओली अहिले अचेत अवस्थामा हुनुहुन्छ । घरमा सम्झाई बुझाई गर्ने अवस्था समेत छैन । सबैतिर सन्नाटा छाएको छ ।  

खिमबहादुरका अनुसार दीपक एक वर्षअघि मात्र अमेरिका पुग्नुभएको थियो । सन् २०२३ को जुलाई महिनामा अमेरिका पुग्नुभएका दीपक अवैध बाटो (तल्लो बाटो) अमेरिका पुग्नुभएको हो । अमेरिकाको सपना पछ्याउँदै अवैध बाटो अमेरिका पुगेका दीपकको सपना भने विलीन भएको छ । सपनाको देशले दीपकको परिवारको सारा सपना टुटाइदिएको छ ।  

दीपकले २०७९ मङ्सिरमा घर छोडेर हिँड्नुभएको थियो । अमेरिका पुग्ने क्रममा बाटोमै करिब डेढ वर्ष र ८० लाख रुपियाँ खर्च भएको खिमबहादुरले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘बल्ल कमाउन थालेको थियो, लुटेराले हत्या गरिदिए ।’’ 

परिवारको थाप्लोमा अहिले दीपकलाई अमेरिका पठाउँदा लागेको ऋणको बोझ छ । छोराको मृत्युपछि विक्षिप्त बनेका दाइलाई छोरो पठाउँदा लगेको ऋणको भारी कसरी चुक्ता गर्ने भन्ने अर्को पिर थपिएको उहाँको भनाई छ । परिवारका अनुसार अमेरिका जाँदा लागेको ८० लाख रुपियाँ ऋणमध्ये आधा मात्रै तिरिएको छ । 

रुकुमबाट दलाललाई लाखौँ बुझाएर अवैध बाटो अमेरिका जाने युवाहरू धेरै छन् । यसबारेमा कुनै पनि निकायले आधिकारिक तथ्याङ्क राखेको पाइँदैन । स्वदेशमा रोजगारीको अवसर नपाइने भन्दै अमेरिकी सपना बोकेर हिँडेका सयौँ युवा अमेरिका पुगेका छन् ।

सयौँको सङ्ख्यामा विभिन्न देशमा अलपत्र परेका छन् । अवैध बाटो जाने क्रममा मृत्यु भएका, दलालले अलपत्र पारेका, बाटोमै बिरामी भएका, नेपाल फर्काइएका खबरहरू पनि आउने गरेका छन् ।