• १४ साउन २०८१, सोमबार

भाषणभन्दा धेरै काम गरेर देखाउनुपर्नेछ : उपप्रधानमन्त्री सिंह

blog

उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंह नेपाल फ्रेट फरवार्डरस एशोसिएशनको आयोजनामा भएको ३० औं कार्गो दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्नुहुँदै।

काठमाडौँ, साउन १४ गते । उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले नागरिकका निराशा चिर्न सरकारले काम गरेर देखाउनुपर्ने समय आएको बताउनुभएको छ ।

काठमाडौँमा सोमबार नेपाल फ्रेट फरवार्डरस एसाेसिएसनको आयोजनामा भएको ३० औँ कार्गो दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

मन्त्री सिंहले अहिलेको सरकारले धेरै भाषण गर्ने भन्दा काम गरेर देखाउने प्रतिबद्धता जनाउनुभयो । सोही अनुसार मौद्रिक नीति आएको पनि उहाँको भनाइ छ । वर्तमान मौद्रिक नीति व्यवसाय गर्न सहजता प्रदान गर्ने गरी आएको बताउनुभयो ।

उहाँले ऐन, कानुनको कार्यान्वयन नहुँदा र व्यवस्थित गर्न नसक्दा भोग्नुपरेका समस्या समाधानका लागि सरकारलाई दबाब दिइरहन पनि आग्रह गर्नुभयो । उहाँले सरकारलाई दबाब र सुझाव दिएमात्रै कामहरू छिटो छरितो र व्यवस्थित हुने बताउनु भयो ।

‘‘तपाईँहरूले काम गर्दाखेरी जुन नीतिगत तवरमा समस्या भोगिरहनुभएको छ, त्यसको लागि अलि खुकुलो पार्ने, व्यवस्थित गर्ने र सरलीकृत गर्ने भूमिका निर्वाह गर्नेछु । काम गर्दैगर्दा तपाईँहरूले भोग्दै आउनुभएका समस्यालाई सरकारलाई बारम्बार घचघच्याइरहनु पर्छ । एउटा कार्यक्रममा भन्यो, त्यसपछि भइहाल्छ की भनेर बस्नुभयो भने त्यसमा गम्भीर्यता हुँदैन ।,’’ उपप्रधानमन्त्री सिंहले भन्नुभयो, ‘‘यसमा तपाईँहरूले समय समयमा घचघच्याइरहनु पर्छ । सरकारले त्यसमा अलिकति सरलीकृत गरेको खण्डमा तपाईँहरूको काममा सहजता आउँछ । अहिलेको सरकारले अहिलेको अर्थतन्त्रलाई अलि अघि बढाउने, जीवन्तता ल्याउनका लागि सरकारले भाषणहरू भन्दा पनि कामबाट देखिरहनुभएको छ । मौद्रिक नीति जुन ल्याएको छ, व्यापार गर्न सहज होस् भनेर सरकारले ल्याएको हो । त्यसलाई पनि त सबैले स्वीकार गर्नुपर्छ नि । लामो र धेरै कुरा गर्नु भन्दा पनि हामीले काम गरेर देखाउनुपर्नेछ ।’’

उपप्रधानमन्त्री सिंहले समस्या परेका ठाउँलाई सहज र नीतिगत रूपमा कार्यान्वयन गर्न आफूले सक्ने सहयोग गर्ने पनि बताउनुभयो ।