• १४ साउन २०८१, सोमबार

दुना टपरी व्यवसायमा जोडिँदै महिला

blog

अर्जुन काफ्ले

स्याङ्जा, साउन १४ गते । अर्जुन चौपारी गाउँपालिका १ मा जिरोमा मेसिनबाट पातका दुना टपरी बनाउन थालिएको छ । यहाँको भगवतीमाई बहुउद्देश्यीय सहकारी लिमिटेडले मेसिनबाट साल, कटुस, चिउरी लगाएका पातबाट दुना टपरी बनाएर बिक्री वितरण गर्न थालेको हो । 

सहकारीका संरक्षक टुकराज अर्यालले पालिकाभित्रका बेरोजगार महिलालाई आय आर्जनमा जोड्न उद्देश्यले मेसिन ल्याएर दुना टपरी बनाउन थालेको बताउनुभयो । 

जङ्गलबाट ल्याइएका पातलाई जोडेर आकार दिने र मेसिनले च्यापेर दुना टपरी बनाइने छ । मेसिनले च्यापेर दुना टपरी बनाउने भए पनि पातलाई सिन्कोले जोड्ने र कत्रो आकारको बनाउने भन्ने महिलाहरूले गर्नु हुनेछ । 

पाँच वटा डाईमार्फत मेसिनले साना दुनादेखि ठुला टपरी बनाउने छ भने दुनाको प्रति गोटाको तीन रुपियाँ र टपरीको आठ रुपियाँ सम्म पर्ने छ । पात खोजेर ल्याएर मेसिनमा हाल्ने बनाएको कच्चा पदार्थको सानाको एक रुपियाँ र ठुलाको तीन रुपियाँसम्म महिलाहरूले पारिश्रमिक पाउने गर्छन् ।

आमा, दिदी–बहिनीले बनाएर ल्याएको पातको कच्चा पदार्थलाई मेसिनबाट दुना टपरी बनाउने काम भने सहकारीमा रहेका कर्मचारीले गर्नु हुनेछ । दुना सिधै दुई वटा पातबाट बन्ने र टपरीलाई सिन्कोले जोडेर बनाउने गरिएको छ । 

यस्तै, पहिलो चरणमा २० जना आमा, दिदी–बहिनी पातबाट कच्चा पदार्थ बनाएर आय आर्जनमा जोडिएका छन् । मुख्य गरेर विवाह, बर्तबन्ध र पूजा पाठमा प्रयोगमा आउने दुना टपरीलाई अब बाहिरबाट ल्यान नपर्ने पालिका बनाउने अर्यालले बताउनुभयो । 

दुई लाख ९४ हजार रुपियाँमा सहकारीले आफैँ मेसिन खरिद गरेर ल्याएर दुना टपरी बनाउन थालेको हो । मेसिनबाट एक दिनमा दुई हजार पाँच सय वटा टपरी र दुना बन्ने बताउँदै अर्यालले बाहिरबाट माग भए बिक्री समेत गर्ने बताउनुभयो । दुना टपरी बनाउने र बिक्री वितरण गर्ने कामको सुरुवात गर्दै गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले महिलालाई आय आर्जनमा जोड्न गरिने हरेक काममा पालिकाको सहयोग रहने बताउनुभयो ।