• १४ साउन २०८१, सोमबार

बाढी पहिरोलगायतका विपदमा परी हालसम्म १४३ जनाको मृत्यु

blog

काठमाडौँ, साउन १४ गते । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी पहिरोलगायतका विपदमा परी हालसम्म १४३ जनाको मृत्यु भएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालयले बुलेटिन सार्वजनिक गर्दै गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपदमा परी सोमबार दिउँसोसम्म एक सय ४३ जनाको मृत्यु भएको जनाएको हो ।

बाढी, पहिरोलगायतका विपदमा परी काठमाडौँ उपत्यकामा दुई, कोशी प्रदेशमा २२, मधेश प्रदेशमा ६, बागमती प्रदेशमा २९, गण्डकी प्रदेशमा ४२, लुम्बिनी प्रदेशमा २४ , कर्णाली प्रदेशमा ८ र सुदूरपश्चिम प्रदेशमा १० जना गरी जम्मा १४३ जनाको मृत्यु भएको हो ।

साथै काठमाडौँ उपत्यकामा नौ, कोशी प्रदेशमा ३५, मधेश प्रदेशमा १०, बागमती प्रदेशमा नौ, गण्डकी प्रदेशमा ३१, लुम्बिनी प्रदेशमा नौ, कर्णाली प्रदेशमा ४४ र सुदूरपश्चिम प्रदेशमा १४ जना गरी जम्मा १६१ जना घाइते भएका छन् ।

घाइतेहरूलाई उपचारका लागि स्थानीय अस्पताल लगिएको बुलेटिनमा उल्लेख छ ।

त्यस्तै, काठमाडौँ उपत्यकामा तीन, कोशी प्रदेशमा ४९, गण्डकी प्रदेशमा १२, कर्णाली प्रदेशमा दुई र सुदूरपश्चिम प्रदेशमा पाँच जना गरी जम्मा ७१ जनाको उद्धार गरिएको छ ।

बाढी पहिरोमा परी कोशी प्रदेशमा दुई, बागमती प्रदेशमा ४२, गण्डकी प्रदेशमा दुई जना र कर्णाली प्रदेशमा एक गरी ४७ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी छ ।

बाढीको कारण जम्मा एक सय ८४ घर डुबानमा परेका छन् । दुई सय ४१ वटा घर, ८८ वटा गोठ, ४३ वटा पुल, दुई वटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ६ सय ८ वटा पशु चौपायाको मरेको छ । उक्त अवधिमा विपद्का घटनाबाट चार हजार ४२ घर परिवार विस्थापित भएका छन् ।

साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत प्रहरीले गरिरहेको छ ।