• १४ साउन २०८१, सोमबार

एकल महिलालाई नागरिकता लिन समस्या

blog

नागरिकताबाट वञ्चित ४५ वर्षीय खगिसरा कार्की । तस्बिरः प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा 

कालीकोट, साउन १२ गते । कालीकोट जिल्लाको शुभकालिका गाउँपालिका ५ की खगिसरा कार्की नागरिकता पाउनबाट वञ्चित हुनुभएको छ । एक वर्ष अगाडी श्रीमान् गुमाउनु भएकी ४५ वर्षीय खगिसरा कार्कीको नागरिकता नहुँदा राज्यबाट पाउने सबै सेवाबाट वञ्चित हुनु भएको हो । 

खगिसरा एकै भएको एक वर्ष भयो । सुस्त मनस्थिति भएकी खगिसराको सानै उमेरमा विवाह भयो । श्रीमान् कलमबहादुर कार्की पनि सुस्त मनस्थितिकै हुनुहुन्थ्यो । दुवै जना सुस्तमनस्थितिका भएकाले समयमा विवाह दर्ता गर्ने, नागरिकता बनाउनेतर्फ सोच्न सक्ने कुरै भएन । गाउँमा टोली जाँदा कलमको नागरिकता बनेको भए पनि खगिसराको बनेन । 

खगिसराको नागरिकता नहुँदा वडाले विवाह दर्ता गर्न पनि मानेन । यस्तैमा श्रीमानको मृत्युपछि खगिसरालाई नागरिकता पाउन झनै मुस्किल भएको छ । धेरै पटक सोधेपछि बिस्तारै जवाफ फर्काउँदै खगिसराले भन्नुभयो, नागरिकता नहुँदा पालिकाबाट पाउने कुनैपनि सेवासुविधा पाएको छैन । धेरै वर्षसम्म मैले नागरिकता पाइन । अब श्रीमान् पनि नाइँ कसरी नागरिकता बनाऊ खगिसराले दुखेसो सुनाउनुभयो । खगिसराको माइती घर कता हो भन्ने पनि कसैलाई जानकारी छैन । 

गाउँमा सानै उमेरमा भेटिएकी खगिसाराको उस्तै उमेर सबै आनीबानी मिल्ने भएकाले कलमसँग गाउँलेहरूले विवाह गराए । अहिले छिमेकीलाई पनि थप केही थाह छैन, त्यसैले पनि नागरिकता बनाउन समस्या भएको स्थानीयको भनाइ छ । शुभकालीका गाउँपालिका ५ का वडा अध्यक्ष मिमबहादुर शाहीले खगिसराको जन्मघर कहाँ हो भनेर नखुलेकाले समस्या भइरहेको बताउनुभयो ।

उहाँका बुबाआमा वा घरपरिवारका कुनै पनि सदस्यको पहिचान नहुँदा समस्या भइरहेको अध्यक्ष शाहीको भनाइ छ । वडा अध्यक्ष शाहीले खगिसरालाई नागरिकता दिलाउन आफैले जिल्ला प्रशासन कार्यालय धाइरहेको सुनाउनुभयो । जिल्ला प्रशासन कार्यालयबाट सर्जिमन मुचुल्का लगायतका प्रक्रिया पुरा गर्न भनेपछि त्यसैको तयारीमा रहेको उहाँको भनाइ छ । 

स्थानीय देबिराम आचार्यले खगिसरा र कलमबहादुर कार्कीबाट जन्मेका पाँच जना छोरा छोरी छन् । तीन जना छोरी र दुई भाइ छोरामध्ये जेठी छोरीको विवाह भएको छ । अरू दुई जना छोरी र दुई जना छोराको भविष्य सुनिश्चित गर्न सरकारले खगिसरालाई नागरिकता दिनुपर्ने आचार्यको भनाइ छ । उहाँले आफू पनि पटक—पटक कागजपत्र लिएर जिल्ला प्रशासन पुगेको सुनाउनुभयो । तर अझै सफल नभएको देबिराम आचार्यले सुनाउनुभयो । 

खगिसराका तीन जना छोरीमध्ये एक जनाको विवाह भए पनि दुई जना छोरी र दुई भाइ छोरा सानै छन् । उनीहरूको पालन पोषणदेखि पढाइमा पनि समस्या छ । 

कालीकोटका प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले उहाँसँग केही पहिचान हुने कागज पत्र केही नभएकाले नागरिकता दिन नसकेको पुष्टि गर्नुभयो । 

प्रजिअ नेपालीले खगिसराको कुनै प्रमाण नभेटिएको बताउनुभयो । हामीलाई पनि समस्या भयो कसरी नागरिकता दिने भनेर । "श्रीमानको पहिचान भइसकेकाले मृत्यु दर्ता राखेर वडा सरकारले सिफारिस सहित सर्जिमन मुचुल्का बनाएर दिएमा नागरिकता दिनु पर्ने हो । तर जिल्ला प्रशासनले कुनै निर्णय दिन नसक्दा खगिसरा नागरिकता पाउनबाट वञ्चित हुनु भएको छ", उहाँले भन्नुभयो ।