• १४ साउन २०८१, सोमबार

उपप्रमुख डंगोल र चीनको सिपिपिसिसीका प्रादेशिक उपाध्यक्षबिच भेटवार्ता

blog

काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलसँग शिष्टाचार भेट गर्नुहुँदै चीनको सिपिपिसिसीका प्रादेशिक याङ् युहुन उपाध्यक्ष । तस्बिर : काठमाडौँ महानगरपालिका

काठमाडौँ, साउन १४ गते । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलसँग सोमबार चीनको पिपुल्स पोलिटिकल कन्सल्टेटिभ कन्फरेन्स (सिपिपिसिसी) हुवेइका उपाध्यक्ष याङ् युहुन नेतृत्वको प्रतिनिधि मण्डलले शिष्टाचार भेट गरेको छ । भेटका क्रममा आपसी सहकार्य सम्भावनाका क्षेत्रका विषयमा कुराकानी भएको थियो ।

भेटमा उपप्रमुख डंगोलले आपसी सहकार्यका क्षेत्र धेरै देखिएको बताउनुहुँदै कुनै एक क्षेत्रबाट सहकार्य थालनी गरेर दिगो बनाउँदै लैजानु पर्ने बताउनुभयो । सिपिपिसिसीका उपाध्यक्ष युहुनले, भगिनी सम्बन्ध स्थापना, शैक्षिक सुधार, व्यापारिक तथा वाणिज्य सम्बन्ध आपसी कार्यक्रम हुने बताएपछि उपप्रमुख डंगोलले यस्तो धारणा राख्नुभएको हो ।

‘‘५० वर्गकिलोमिटर क्षेत्रभित्र विश्व सम्पदा क्षेत्रमा सूचीकृत चार वटा स्थल हुनु, यी हरेक स्थलहरू पैदल दूरीमा हुनु काठमाडौँको सांस्कृतिक पहिचान हो ।’’ उपप्रमुखले भन्नुभयो, ‘‘सामुदायिक शिक्षामा हामीले सङ्घ सरकारको भन्दा धेरै लगानी गरेका छौँ । स्थानीय उत्पादन प्रवर्द्धन गर्न पेय पदार्थ ‘ऐला ब्राण्डिङ्’ गर्दछौँ । महिला क्षमता विकासका लागि ‘एक वडा एक उद्यम कार्यक्रम’ चलाएका छौँ । हस्तकलाका सामान उत्पादनलाई प्रोत्साहित गरेका छौँ । यी क्षेत्रको विकास, प्रवर्द्धन र व्यवस्थापनमा आपसी ज्ञान, सिप र क्षमताका लागि सहकार्य गर्न हामी सकारात्मक छौँ ।’’


त्यस क्रममा उपाध्यक्ष युहुनले काठमाडौँ महानगरपालिकासँग चीनको मध्य क्षेत्रबाट हुवेइ नगरको भगिनी सम्बन्ध स्थापना गर्न इच्छुक रहेको बताउनुभयो । ‘‘चीनका सात वटा सहरसँग महानगरपालिकाको भगिनी सम्बन्ध छ । मध्य क्षेत्रसँग बाँकी छ ।’’ उहाँले भन्नुभयो, ‘‘हामी औपचारिक सम्बन्धबाट हाम्रा असल अभ्यासहरू बाँड्न चाहन्छौँ ।’’

त्यस क्रममा विद्यार्थी र शिक्षक आदानप्रदान गरेर आपसी शैक्षिक सुधारमा क्षमता र सिकाइ विकास गर्ने, व्यापारिक तथा वाणिज्य मेलामा आपसी सहभागिता जनाउने विषयमा छलफल भएको थियो ।

भेटका क्रममा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार, प्रशासन विभागका प्रमुख दीपक अधिकारी, वित्त विभागका प्रमुख डा. शिवराज अधिकारी, सहरी योजना आयोगका सदस्य इन्जिनियर शैलेन्द्र झा, अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालय र उपप्रमुखको सचिवालयका प्रमुखसहित अधिकारीहरू सहभागी हुनुहुन्थ्यो ।  

हुवेइको प्रान्तीय राजधानी बुहान हो । यो यातायातसँगै मध्य चीनको राजनीतिक, सांस्कृतिक र व्यापारिक स्थलका रूपमा परिचित छ ।