• १४ साउन २०८१, सोमबार

गोरखापत्रका सामग्री अब नेपाली पात्रोमा

blog

गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरी र नेपाली पात्रोका तर्फबाट संस्थापक अध्यक्ष बिरीजन महर्जन समझदारीपत्र आदान–प्रदान गर्नुहुँदै । तस्बिर : मनोजरत्न शाही

गोरखापत्र अनलाइन

काठमाडौं, साउन १४ गते । गोरखापत्र संस्थानबाट प्रकाशन हुने गोरखापत्र, दि राइजिङ नेपाल, मधुपर्क, युवामञ्च, मुनाका सामग्री अब नेपालीपात्रोमा पनि पढ्न सकिने भएको छ । 

डिजिटल प्रविधिको प्रयोग गर्दै यी सामग्री गोरखापत्र अनलाइन डट कम र राइजिङ नेपाल डेली डट कममार्फत पाठकसम्म पुग्नेछन् । अफलाइनमा हुँदा पनि महत्त्वपूर्ण समाचार सामग्री मोबाइल स्क्रिनमा पढ्न सकिन्छ ।

गोरखापत्र संस्थान र नेपाली पात्रोबिच सोमबार दुईपक्षीय समझदारी भएपछि संस्थानका प्रकाशनहरूका सामग्री नेपाली पात्रोमा पढ्न सकिने भएको हो । 

संस्थानका महाप्रबन्धक लालबहादुर ऐरी र नेपाली पात्रोका संस्थापक अध्यक्ष बिरीजन महर्जनले समझदारीपत्रमा हस्ताक्षर गर्नुभयो । नेपाली पात्रोले गोरखापत्र, दि राइजिङ नेपाल, मधुपर्क, युवामञ्च र मुना मासिकका छुट्टाछुट्टै लोगोसहितका सामग्री पाठकसमक्ष पुर्‍याउन सहयोग गर्नेछ ।  

महाप्रबन्धक ऐरीले दुईपक्षीय सहकार्यबाट गोरखापत्र संस्थानबाट प्रकाशित सामग्री नेपाली पात्रोमार्फत देश विदेशमा रहेका पाठकसमक्ष पुग्ने विश्वास व्यक्त गर्नुभयो । “संस्थानका सामग्री अरू मिडियाभन्दा विश्वसनीय छन्, गोरखापत्रले आम पाठकसम्म पहुँच विस्तार गर्न डिजिटल प्रविधिको प्रयोगलाई प्राथमिकतामा राखेको छ । हाम्रा सामग्रीलाई राम्रो स्थान दिनु हुन्छ भन्ने अपेक्षा छ ।”


गोरखापत्र दैनिकका निमित्त प्रधान सम्पादक शिवकुमार भट्टराईले विश्वसनीय सामग्री नै गोरखापत्रको सम्पत्ति भएकाले त्यसलाई पाठकसामु पुर्‍याउन नेपाली पात्रोसँग सहकार्य बताउनु भयो । उहाँले भन्नुभयो, गोरखापत्रले ४३ वटा राष्ट्रिय भाषामा सामग्री प्रकाशन गरी नेपालको चित्र पस्किरहेको छ, ती सामग्री सहजरुपमा पाठकसम्म पुग्ने हामीलाई लागेको छ । 

नेपाली पात्रोका संस्थापक अध्यक्ष महर्जनले गोरखापत्र संस्थान सरकारी र विश्वसनीय सञ्चार माध्यम भएकाले यससँग एक वर्ष अघिदेखि नै सहकार्य गर्न आफूहरू इच्छुक रहेको जानकारी दिनुभयो । गोरखापत्रका सामग्रीले नेपाली पात्रोको विश्वसनीयता पनि बढ्ने उहाँको विश्वास छ । 

कार्यक्रममा निमित्त नायब महाप्रबन्धक यमप्रसाद कँडेल, दि राइजिङ नेपालका निमित्त प्रधान सम्पादक भीमसेन थपलिया, प्रशासन विभागका प्रमुख भगीरथ बस्नेत, नेपाली पात्रोका मिडिया एक्जुकेटिभ शिव कार्की, गोरखापत्र अनलाइन प्रकाशनका निमित्त सम्पादक नारदमुनि गौतमलगायत सहभागी हुनुहुन्थ्यो ।