• १२ मंसिर २०८१, बुधबार

गोरखा पहिरो : चार जनाको शव फेला

blog

गुणबहादुर रोका
सुलीकोट, साउन १४ गते । 
उत्तरी गोरखामा पहिरोमा पुरिएका एकै घरका तीनसहित चार जनाको शव फेला परेको छ । धार्चे गाउँपालिका–५ सिङलास्थित रेसेगाउँमा सोमबार पहिरोले पुरिएको अवस्थामा घरभन्दा ३० मिटर तल जीतबहादुर गुरुङ, ६० वर्षीय बुबा सुलाल कान्छा गुरुङ र जीत बहादुरको कृषि फर्ममा काम गर्ने कामदार ३३ वर्षीय रमेश गुरुङको शव पुरिएको अवस्थामा फेला परेको हो ।

जीत बहादुरका ३५ वर्षीया श्रीमती कान्छी माया गुरुङको शव भने गण्डकी गाउँपालिका – ८ बर्खेघाटको त्रिशूली नदीमा सोमबार दिउँसो १ः३० बजे फेला पारिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेश कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

तीन जनाको शव पुरिएको अवस्थामा फेला परेको थियो भने एक जनाको त्रिशूली नदीको किनारमा फेला पारिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

धार्चे गाउँपालिका – ५ रेसे गाउँमा आइतबार बिहान ३ बजे भीषण पहिरो गरेको थियो ।

वतन नखुलेका ट्याक्टर चालक ३४ वर्षीय रमेश परियारसहित सबै जना एउटै घरमा बस्दै आएका थिए । यद्यपि चार जनाको शव फेला परेको छ भने परियारको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताउनुभयो ।

एकै गाउँका ५ जना पहिरोमा पुरिएर मृत अवस्थामा फेला परेपछि रेसे गाउँ नै शोकमा परेको छ । जीत बहादुर गुरुङको कृषि फार्ममा रहेको बाख्रा, कुखुरा र बङ्गुर साथै एक घर समेत पहिरोले बगाएको छ ।