• १४ साउन २०८१, सोमबार

‘मानव-वन्यजन्तु द्वन्द्वलाई शून्यमा झार्दै संरक्षणमा ध्यान दिऔँ’

blog

फाइल तस्बिर

काठमाडौँ, साउन १४ गते । सांसद ठाकुरप्रसाद गैरेले लोपोन्मुख बाघको संरक्षणमा नेपालले खेलेको भूमिका प्रशंसनीय रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा उहाँले मानव र वन्यजन्तुबिचको द्वन्द्वलाई शून्यमा झार्दै लोपोन्मुख वन्यजन्तुको संरक्षणमा ध्यान दिन आग्रह गर्नुभयो ।

अन्तर्राष्ट्रिय बाघ दिवसको सन्दर्भलाई उल्लेख गर्दै सांसद गैरेले बाघको संरक्षणसँगै स्थानीय रोजगारी सिर्जना, पर्यटन प्रवर्धन र अर्थतन्त्रको सुदृढीकरणसँग जोड्ने गरी राष्ट्रिय नीति बनाउन सुझाव दिनुभयो । सांसद तारा लामा तामाङले बाघको संरक्षण र मानवको सुरक्षालाई ध्यान दिनुपर्नेमा जोड दिनुभयो । भरपर्दो विद्युतकाे व्यवस्था नहुँदा कञ्चनपुरका दक्षिणी क्षेत्रका किसान प्रभावित बनेको उल्लेख गर्दै उहाँले वैकल्पिक व्यवस्था गरेरै भए पनि सिँचाइको प्रबन्ध मिलाउन आग्रह गर्नुभयो ।

सांसद डा.तोसिमा कार्कीले भ्रष्टाचारको मुद्दा दायर भएसँगै ललितपुरको गोदावरी नगरपालिकाका प्रमुख र उपप्रमुखसहित १४ जना निलम्बित परेको घटना सुनाउँदै स्थानीय तह अभिभावकविहीन बनेकाले राज्यले सो समस्या छिटो सम्बोधन गर्न माग गर्नुभयो । “आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट अलपत्र छ । कार्यवाहक कसले लिने भन्ने अन्योल छ । निलम्बित हुँदा वैकल्पिक नेतृत्व कसलाई दिने कानुनी स्पष्टता हुनुपर्छ”, उहाँले भन्नुभयो ।

सांसद दामोदर पौडेल बैरागीले कास्कीमा भएको स्कुल बस दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभयो । सांसद दीपक गिरीले नेपाल जडीबुटी उपलब्धताको दृष्टिकोणले विश्वकै सम्पन्न मुलुक हुँदा पनि हालसम्म उच्च हिमाली क्षेत्रमा पाइने जडीबुटीका बारेमा अनुसन्धान नहुनु विडम्बना भएको बताउनुभयो ।

सांसद दीपकबहादुर सिंहले जथाभावी सडक निर्माण गर्ने कार्यले मनसुनका समयमा राष्ट्रिय राजमार्ग अस्तव्यस्त भएको उल्लेख गर्दै सुरक्षित सडकका लागि नीति र मापदण्ड बनाउन सुझाव दिनुभयो । सांसद दुर्लभ थापा क्षेत्रीले भूकम्पबाट क्षतिग्रस्त भएको भक्तपुरकै जेठो पद्म हाइस्कुलका लागि सुविधासम्पन्न भवन निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद देवप्रसाद तिमिल्सेनाले दुग्ध किसानले नौ महिनासम्म भुक्तानी पाउन नसकेको यथार्थ प्रस्तुत गर्दै साउन महिनाभित्र दूधको बक्यौता भुक्तानी गर्न माग गर्नुभयो । सांसद नारायणप्रसाद आचार्यले किसानका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद निशा डाँगीले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको स्तरोन्नतिको भौतिक प्रगति कस्तो भइरहेको छ ? भनी प्रधानमन्त्री र खेलकुदमन्त्रीसँग जवाफ माग गर्नुभयो ।

सांसद विन्दवासिनी कङ्साकारले पुराना सवारी साधनबाट वायु प्रदूषण बढेको उल्लेख गर्दै नियमित जाँच गरी प्रदूषण निणन्त्रणमा ध्यान दिन आग्रह गर्नुभयो । बैठकमा सांसदहरु विनीता कठायत, विमला सुवेदी, धनराज गुरुङ, ध्रुवबहादुर प्रधान, नारायणप्रकाश साउद, प्रेमबहादुर महर्जन, वासुदेव घिमिरे, पुष्पबहादुर शाह, पूर्णबहादुर घर्तीमगर, प्रतीक्षा तिवारी, नारायणी शर्मा र दुर्गा राईले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो । रासस