• १४ साउन २०८१, सोमबार

कार्गो व्यवसायलाई सहज बनाउन आवश्यक छ : उपप्रधानमन्त्री सिंह

blog

उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह ।

काठमाडौँ, साउन १४ गते । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले निर्यात प्रवर्द्धनका लागि कार्गो व्यवसायलाई सहज बनाउन आवश्यक नीतिगत र संरचनागत परिवर्तन गर्न सरकार तयार रहेको बताउनुभएको छ ।     

तिसौँ कार्गो दिवसका अवसरमा नेपाल फ्रेट फरवार्डस् एसोसिएसनद्वारा सोमबार यहाँ आयोजित कार्यक्रममा उपप्रधानमन्त्री सिंहले नयाँ सरकार बनेपछि जारी मौद्रिक नीतिले सरकार उद्यम व्यवसायलाई प्रोत्साहन गर्ने कुरा प्रमाणित गरेको उल्लेख गर्नुभयो । व्यावसायिक काममा परेका समस्यालाई तत्काल समाधान गर्नका लागि सरकारलाई घच घच्याउनसमेत उहाँले आग्रह गर्नुभयो ।

सो अवसरमा उपप्रधानमन्त्री सिंहले गत वर्ष नेपालको कार्गो व्यवसायमा उल्लेखनीय योगदान गर्नुभएका सुन्दरप्रसाद दाहाल, आशिष गजुरेल, क्याथे कार्गो तथा नेपाल एयरलाइन्स लगायतका संस्था तथा व्यक्तिलाई सम्मान गर्नुभयो । कार्यक्रममा सांसद गणेश पराजुलीले नेपालको अतिकम विकसित देशबाट विकासोन्मुख देशमा स्तरोन्नति हुँदै जाँदा निर्यातमा हाल पाउँदै आएका सुविधा खोसिन सक्ने भएकाले सरकार त्यसतर्फ हुनुपर्ने बताउनुभयो । 

नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष हेमराज ढकालले कार्गो  व्यवसायलाई विभिन्न अव्यवहारिक करले दुःख दिइरहेको उल्लेख गर्दै त्यसलाई हटाइ निर्यात व्यवसायलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो । फ्रेट फरवार्डस एसोसिएसनका अध्यक्ष मनोज अधिकारीले मल्टी मोडेल ट्रान्सपोर्ट ऐन र नियमावलीमा समयानुकूल परिवर्तन गर्नुपर्ने बताउनुभयो । रासस