• १४ साउन २०८१, सोमबार

विपिन जोशीको रिहाइका लागि सक्दो प्रयास गरिरहेका छौँ : परराष्ट्रमन्त्री राणा

blog

तस्बिर : रासस

काठमाडौँ, साउन १४ गते । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले हमास समूहको नियन्त्रणमा रहनुभएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि सरकारले सक्दो प्रयास गरिरहेको बताउनुभएको छ । जोशीका बुबा महानन्द जोशी र उहाँको परिवारका सदस्यहरुलाई मन्त्री डा.राणाले सो जानकारी दिनुभएको हो । 

विपिन जोशीका बुबासहित परिवारका सदस्यहरुले आज परराष्ट्रमन्त्री डा.राणालाई उहाँको कार्यकक्षमा भेटेर विपिनको रिहाइका लागि पहल गरिदिन अपिल गर्नुभएको थियो । उक्त भेटमा मन्त्री डा.राणाले जोशी हमास समूहको नियन्त्रणमा सुरक्षित रहेको जानकारी आफूले पाएको बताउनुभयो । इजरायलमा भएको  आक्रमणपछि विपिन जोशीसहित नियन्त्रणमा लिइएका सबैलाई हमास समूहले सुरक्षित राखेको जानकारी प्राप्त गरेको र उहाँको सकुशल रिहाइका लागि परराष्ट्र मन्त्रालयले सक्दो प्रयास गरिरहेको जानकारी मन्त्री डा.राणाले दिनुभयो ।

मन्त्री डा.राणाले भन्नुभयो, “उहाँको अवस्थाका बारेमा हालै नेपालका लागि इजरायली राजदूतसँग पनि मैले जानकारी लिएँ । उहाँले सो आक्रमणपछि नियन्त्रणमा लिइएकाहरु हमासको समूहमा सुरक्षित रहेको जानकारी पाएको मलाई बताउनुभएको छ । जोशीको रिहाइका लागि इजरायली राजदूत पनि लागिपर्नुभएको छ । हामीले उहाँको रिहाइमा कुनै कसर बाँकी नराखी काम गरिरहेका छौँ । आशा छ, उहाँ नियन्त्रणबाट सकुशल मुक्त हुनुहुनेछ ।”

आफू परराष्ट्रमन्त्री भएदेखि विपिनको रिहाइका लागि के गर्न सकिन्छ भनेर लागिपरेको तथा आफूसँग भेट्न आउने प्रायः सबै विदेशी राजदूतहरुलाई विपिनको रिहाइका लागि आफ्ना ठाउँबाट आवश्यक सहयोग र पहल गरिदिन आग्रह गरेको जानकारी उहाँले दिनुभयो । यसअघि कतारका राजकुमार नेपाल भ्रमणका क्रममा आउनुभएको बेला उहाँसँग नेपाल सरकारले विपिनको रिहाइका लागि पहलको आग्रह गरेको स्मरण गर्दै मन्त्री डा.राणाले आवश्यक सहयोग र पहलका लागि कतार सरकारसँग आग्रह गर्ने जानकारी दिनुभयो । इजरायलमा गत अक्टोबरमा हमास समूहद्धारा भएको आक्रमणपश्चात् उनीहरुकै नियन्त्रणमा रहनुभएका विपिन जोशी हालसम्म सम्पर्कविहीन हुनुहुन्छ । रासस