• १४ साउन २०८१, सोमबार

सुक्खा क्षेत्रमा सौर्य ऊर्जामार्फत सिँचाइ

blog

तस्बिर : रासस

डुम्रे (तनहुँ), साउन १४ गते । जिल्लाको देवघाट गाउँपालिका-२ बेसारघारीमा ३५ हेक्टर क्षेत्रफलमा अहिले सिँचाइ पुगेको छ । आकाशे पानीको भरमा यहाँका सुन्तलाखेती गर्दै आएका यहाँका किसान अहिले सौर्य ऊर्जामार्फत सिँचाइ सुविधा पाउँदा उत्साहित भएका छन् । भिरालो र सुक्खा क्षेत्रमा सिँचाइको अभावमा समस्या झेल्दै आएका किसानलाई सौर्य ऊर्जामार्फत सिँचाइ पुगेपछि सहज भएको हो ।

एक सय चार मिटर उचाइमा रहेका सुन्तलाबारीमा लिफ्टिङ प्रविधिबाट सिँचाइका सुविधा पुगेपछि खेती गर्न सहज भएको किसान तिलबहादुर थापाले बताउनुभयो । बेसारघारी सिँचाइ आयोजनाअन्तर्गत उपभोक्ता समितिका अध्यक्षसमेत रहनुभएका थापाले भन्नुभयो, “यहाँका बासिन्दालाई सिँचाइमा समस्या थियो । हामीले आकाशे पानीको भरमा परम्परागत विधिबाट खेती गर्दैैैै आएका थियौँ । सोलार प्रविधिबाट पानी तानेर अहिले सहजरुपमा सिँचाइ गर्न पाएका छौँ ।” 

सहज सिँचाइ सुविधा पाएपछि अहिले व्यावसायिक रुपमा सुन्तलासँगै अन्य खेतीतर्फ जोडिँदै गएको थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “केही फाइदा र बेफाइदा हुने रहेछ । पानीको मुहान सुक्दा समस्या हुन्छ । पहिलेभन्दा सहज भएको छ । सिँचाइका लागि मुहानमा पर्याप्त पानी आवश्यक पर्दछ ।” देवघाट-२ बेसारघारीमा सौर्य ऊर्जाका माध्यमबाट पानी लिफ्टिङ गरी सिँचाइको व्यवस्था गरिएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय तनहुँका सूचना अधिकारी इन्जिनियर जगन्नाथ चापागाईले जानकारी दिनुभयो । 

उहाँका अनुसार एक करोड २१ लाखको लागतमा बेसारघारी लिफ्टिङ योजना निर्माण गरिएको हो । बन्दीपुर गाउँपालिका-३ मा कोल्पाटा सिँचाइ आयोजनामार्फत १२ हेक्टर क्षेत्रफलमा सिँचाइ पुर्याइएको छ । ५१ लाख ८७ हजारको लागतमा उक्त आयोजना निर्माण भएको सूचना अधिकारी चापागाईले बताउनुभयो । व्यास नगरपालिका-६ चापाटारस्थित याङ्दी खोला सिँचाइ योजनामार्फत ५७ लाख २२ हजारको लागतमा सिँचाइ सुविधा पुर्याइएको छ । यसले १५ हेक्टर क्षेत्रफलमध्ये १२ हेक्टरमा सिँचाइ हुने उहाँले जानकारी दिनुभयो । 

भानु नगरपालिका-१० स्थित पदेलफाँट लुइँटेलफाँट सिँचाइ आयोजना निर्माणाधीन छ । यसले १२ हेक्टर क्षेत्रफलमा सिँचाइ पुग्ने कार्यालयले जनाएको छ । उक्त आयोजना ६५ लाख ८० हजारमा निर्माण भइरहेको छ । आर्थिक वर्ष २०७९/८० मा शुक्लागण्डकी नगरपालिका-१० स्थित लोग्दीटारमा स्थानीय क्याङ्दी खोलाबाट लिफ्ट प्रविधिबाट सिँचाइको सुविधा उपलब्ध गराइएको थियो । क्याङ्दी खोलामा सम्पवेल निर्माण गरी ७० मिटर उचाइमा लिफ्टमार्फत पानी तानेर दुईवटा ट्याङ्कीमा पानी सङ्कलन गरिएको सूचना अधिकारी चापागाईले उल्लेख गर्नुभयो । 

“ट्याङ्कीमा सङ्कलित पानी करिब चार किलोमिटर क्षेत्रफलमा पाइप बिछ्याएर प्लट–प्लटमा धारा जडान गरिएको छ । उक्त धाराबाट करिब एक महिनादेखि पानी वितरण गरी सिँचाइ भइरहेको छ”, उहाँले भन्नुभयो । गण्डकी प्रदेश सरकारको करिब एक करोड २९ लाखको लागतमा निर्माण गरिएको लोग्दीटार लिफ्ट सिँचाइ आयोजनाबाट करिब तीन सय उपभोक्ता लाभान्वित भएका छन् । यस्तै, सिस्नेरी ठूलोफाँट लिफ्ट सिँचाइ आयोजनाबाट १२ हेक्टर क्षेत्रफलमा सुविधा पुगेको छ । आयोजना निर्माण भएपछि यहाँ हिउँदमा पनि हरियो सागसब्जी र तरकारी खेती गर्न पर्याप्त सिँचाइ उपलब्ध भएको छ । 

यस आयोजना वि.सं.२०७५ देखि सुरु भएकामा हाल सम्पन्न भई सञ्चालनमा आएको सूचना अधिकारी चापागाईंले जानकारी दिनुभयो । सुक्खा जमिनमा सिँचाइका लागि पानी पर्याप्त भएसँगै किसानले तरकारीखेतीसँगसँगै धानखेती पनि गर्दै आएका छन् । यहाँका किसानले अहिले गहुँ, धान, मकै, काउली, बन्द, तोरीलगायत खेती गरिरहेका छन् । सतहमा पानी भएका स्थानमा कुलो, नहरबाट र सतहमा पानी नभएका स्थानमा सोलार लिफ्टमार्फत सिँचाइको सुविधा उपलब्ध गराउन योजनाबद्ध काम थालिएको कार्यालयका डिभिजन प्रमुख प्रकाश लम्सालले बताउनुभयो ।

उहाँका अनुसार कार्यालयले अहिले शुक्लागण्डकी र भिमाद नगरपालिका, बन्दीपुर र देवघाट गाउँपालिकामा सोलर लिफ्ट सिँचाइ आयोजना सम्पन्न गरी सञ्चालनमा ल्याइसकेको छ । “लोकेतीटारमा २३, सिस्नेरीमा २७ र बेसारघारीमा ३२ वटा धारा निर्माण गरी सिँचाइको व्यवस्था मिलाएका छौँ”, प्रमुख लम्सालले भन्नुभयो, “सोलार लिफ्टको माध्यमबाट लोग्दीटारमा करिब चार सय ६० रोपनी, सिस्नेरीमा करिब तीन सय रोपनी र बेसारघारीमा छ सय रोपनी क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध भएको छ ।”

सिस्नेरी फाँटमा जमिनभन्दा ७० मिटर गहिराइमा खनिएको बोरिङबाट पानी लिफ्ट गरी ट्याङ्कीमा सङ्कलन गरी वितरण गरिएको छ । उक्त आयोजनाअन्तर्गत तीन किमी क्षेत्रफलमा पाइप बिछ्याइएको छ । बेसारघारीमा स्थानीय खोलामा पोखरी बनाएर पानी जम्मा गरी एक सय चार मिटर उचाइमा सौर्य ऊर्जाको माध्यमबाट पानी लिफ्टिङ गरिएको कार्यालयले जनाएको छ ।

सुक्खा क्षेत्रमा सिँचाइ सुविधा उपलब्ध गराई व्यावसायिक कृषि पेसामा आबद्ध किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले सौर्य ऊर्जा लिफ्टिङ प्रविधिको प्रयोग गरी यी योजना सञ्चालनमा ल्याइएको डिभिजन कार्यालयका डिभिजन प्रमुख लम्सालले बताउनुभयो । उहाँले भन्नुभयो, “पानीको स्रोतभन्दा सिँचाइको सुविधा पुर्याउनुपर्ने क्षेत्र अग्लो स्थानमा भएकाले विद्युतीय माध्यमबाट सिँचाइ पुर्याएका छौँ । विद्युत महसुलले किसान मारमा पर्न सक्ने सम्भाव्यतालाई अध्ययन गरी सहज सोलार प्रविधिको उपयोगी गरिएको छ ।”

प्रदेश सरकारबाट सिँचाइका लागि कूल पाँच करोड ४१ लाख बजेट विनियोजन भएको छ । गत आवमा दुई सिँचाइ योजना सम्पन्न भएका प्रमुख लम्सालले जानकारी दिनुभयो । उहाँका अनुसार सङ्घ ससर्ततर्फ एक करोड ८५ लाख बजेट विनियोजन भएको थियो । रासस