• १३ साउन २०८१, आइतबार

सञ्चारमन्त्रीद्वारा मानवसेवा आश्रम भवनको निरीक्षण

blog

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ । फाइल तस्बिर

लमजुङ, साउन १३ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यहाँ निर्माणाधीन मानवसेवा आश्रम भवनको निरीक्षण गर्नुभएको छ । बेँसीसहर नगरपालिका-९ पाखाथोकमा निर्माणाधीन मानवसेवा आश्रमको उहाँले स्थलगत निरीक्षण गर्नुभएको हो । 

आश्रमको निरीक्षण गर्दै सञ्चारमन्त्री गुरुङले आफू प्रदेशको मुख्यमन्त्री हुँदा नै आश्रमलाई सक्दो सहयोग गरेको र आगामी दिनमा पनि बजेटका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले असहाय, बेवारिसे, दिन दुःखीलाई आश्रय दिएर आश्रमले सराहनीय काम गरेको बताउनुभयो । सो अवसरमा आश्रमकी संयोजक अनिता अधिकारीले सञ्चारमन्त्री गुरुङलाई भाडामा आश्रम सञ्चालन गर्दा समस्या भएको बताउनुभयो । 

आश्रमका लागि धेरै संरचना बन्न बाँकी रहेको उहाँले सञ्चारमन्त्री गुरुङलाई जानकारी दिनुभयो । पहिरो रोकथाम गर्न, पर्खाल टेवा लगाउन, जग्गा समाउन र तीनवटा घर निर्माण गर्न ६ करोड खर्च भइसकेको संयोजक अधिकारीको भनाइ थियो । वि.सं.२०७८ देखि आश्रम निर्माण थालिएको हो । गण्डकी प्रदेश सरकार, पालिका, विभिन्न सङ्घसंस्थाको भवन निर्माण भइरहेको छ । 

आश्रमको भवन निर्माण गर्न ‘बालसपना समाज’ले पाँच रोपनी जग्गा निःशुल्क उपलब्ध गराएको छ । वि.सं.२०७३ चैतदेखि बेँसीसहर नगरपालिका-७ मा घर भाडामा लिएर आश्रम सञ्चालन गरिएको छ । हाल आश्रममा २३ जना रहेका संयोजक अधिकारीले बताउनुभयो । रासस