• १३ साउन २०८१, आइतबार

मुहान सुकेपछि पानी लिन अर्काे जिल्ला

blog

खलङ्गा समाचारदाता

जाजरकोट, साउन १३ गते । भेरी नगरपालिका–१, रिम्नाका बासिन्दाले प्रयोग गर्दै आएको मुहानको पानी सुकेपछि छिमेकी जिल्ला रुकुमपश्चिमको सानीभेरी गाउँपालिका–१ स्थित चाइनाबगरबाट पानी ल्याउने गरिएको छ । गत वर्ष कात्तिक १७ गते राति गएको भूकम्पले खानेपानीको मुहान भासिएपछि यस्तो समस्या आएको हो । करिब पाँच किलोमिटर टाढा भेरी नगरपालिका–१, पिपेखोला गैरी खेतको मुहानको पानी खाएका ३२५ घरपरिवार धारामा पानी आउन छाडेपछि रुकुमपश्चिम सानीभेरी गाउँपालिका–१, चाइनाबगरबाट गाग्रीमा बोकेर खानेपानीको जोहो गर्दै आएका छन् । 

भेरी नगरपालिका–१, रिम्नाका गगन रानाका अनुसार भूकम्पले गाउँबस्तीमा पानीको मुहान सुकेपछि अहिले खानेपानीको दुःख हुन थालेको छ । गाउँबस्तीमा लामो समयदेखि पानीको हाहाकार भए पनि सरोकारवाला निकायले चासो नदिएका कारण रुकुमपश्चिमबाट पानी ल्याएर गुजारा चलाएको बताउनुभयो । भेरी नगरपालिका–१, रिम्नास्थित दिलमाया रानाले गाउँबस्तीका धारामा पानी आउन छाडेको करिब नौ महिना भएको बताउनुभयो । खानेपानीको व्यवस्थाका लागि कहीँकतैबाट पहल नभएको गुनासोसमेत उहाँले गर्नुभयो । 

भेरी नगरपालिका–१, भेरी त्रिवेणी माध्यमिक विद्यालयमा कक्षा ९ मा पढ्ने भावना रानाका अनुसार गाउँबस्तीका धारामा आउने पानीका मुहान सुकेपछि बालबालिकालाई समेत समस्या थपिएको छ । घरआँगनमा आउने पानीका धारामा पानी आउन छाडेपछि दुई घण्टा हिँडेर भेरी नदीपारि रुकुमको सानीभेरी गाउँपालिका–१, चाइनाबगरबाट झोलुङ्गे पुलनजिकबाट ल्याउनुपर्दा कहिलेकाहीँ बालबालिकाले समेत पानी बोक्न जानुपर्ने भएको बताउनुभयो । बर्खाको समयमा गाउँमा पानी नै नभएपछि विद्यालयको पढाइ छोड्नु पर्ने अवस्था आएको छ । बर्खाको समयमा पानीका मुहान फुटेर झन् ठुलो पानी आउनुपर्ने बेला पानीको हाहाकार भएको छ । 

भेरी त्रिवेणी माध्यमिक विद्यालय कक्षा ८ मा अध्ययनरत जानुका रानाले भन्नुभयो, “नजिक पानी नहुँदा पढ्ने समयमा खानेपानी जोहो गर्न कुद्नु पर्छ । विद्यालयमा छुट्टी भएपछि घरमा गृहकार्य गर्ने समयमा पानी ल्याउनुपर्ने बाध्यता छ ।” उहाँले भन्नुभयो, “पानी नल्याउने हो भने घरपरिवार सबैलाई गाह्रो हुन्छ । पानी ल्याउन जाने हो भने पढाइ छुट्छ, गृहकार्य गर्ने समय पानी ल्याउनै बित्न थालेको छ ।” भेरी नदीको धमिलो पानी खाँदा रोगले आव्रmमण गर्छ भन्ने डरले पुलपारि गएर पानी ल्याउनुपर्ने बाध्यता छ । समय मिलाएर पढाइसँगै पानी बोक्ने गरेको कुरा यहाँका विद्यार्थीले बताउने गरेका छन् । 

खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालयका प्रमुख मङ्गल शाहीका अनुसार भेरी नगरपालिका–१, रिम्नामा खानेपानी हाहाकार भएपछि गाउँबस्तीमा पानी ल्याउनका लागि हेल्भेटास नेपाल र युनिसेफसंँग सहकार्य गरेर काम सुरु गरिएको छ ।