• १२ साउन २०८१, शनिबार

प्रसिद्ध स्थल त्रिपुरासुन्दरी

blog

क्षेत्रफलको हिसाबले नेपालको सबैभन्दा ठुलो जिल्ला हो, डोल्पा । छ हजार ८८९ वर्ग किलोमिटर क्षेत्रमा यो फैलिएको छ । तीन हजार ५५५ वर्ग किलोमिटरमा विस्तारित से फोक्सुन्डो राष्ट्रिय निकुञ्ज यही जिल्लामा   पर्दछ । ११ औँ शताब्दीमा निर्माण भएका गुम्बा यहाँको गौरव हो । त्यस्तै झन्डै पाँच वर्ग किलोमिटर क्षेत्र ओगटेको से फोक्सुन्डो ताल, यहाँका डाँडाकाँडा, वनजङ्गल, बस्ती, अप्परडोल्पाको ढो उपत्यका र मष्ट देवतालगायत यस्ता अनगन्ती परिचय छन् । 

गत साल जेठ महिनामा कर्णाली प्रदेशतिर फेरो मार्ने व्रmममा डोल्पा पनि पुग्ने र त्यहाँको प्राकृतिक अवस्थिति र सुन्दरता अवलोकन गर्ने रहर भयो । विभिन्न जातजाति, धार्मिक र सांस्कृतिक मान्यता, प्रचलन, व्यवहार, स्थानविशेषका कृषि उत्पादन, जडीबुटी, प्राकृतिक छटा, टलक्क टल्किरहने हिमाल, हरियो जङ्गल र अटुट रूपमा कलकल बगिरहने खोलानाला यहाँका अनुपम गहना हुन् । 

१८/१९ जनाको हाम्रो टोलीले सुर्खेतबाट भेरी नदीको किनारैकिनार जाजरकोट र पश्चिम रुकुमको भूगोल हेर्दै डोल्पा सदरमुकाम पुग्ने लक्ष्य तय ग¥यो । यात्राको व्रmम कहिले नदीको वारि कहिले पारि गर्दै कच्ची बाटो अगाडि बढ्यो । सुर्खेतदेखि भेरी नदी कोरिडोरैकोरिडोर दुनै पुगिने रहेछ । हो, त्यहाँको भौगोलिक विकटता आँखाले अग्लाइ नाप्न नसक्ने भिर कति, थुम्का र टाकुरा कति, पाखापहरा अनि धारिला चुचुरा ! राता, खैरा र काला पहाडको खोच हेर्दा कहालीलाग्दा देखिए पनि मनै लोभ्याउने प्राकृतिक सुन्दरताको वर्णन गरेर सकिँदैन । 

धार्मिक मान्यता, सांस्कृतिक धरोहर र परम्पराले गर्दा डोल्पाले नेपालको गौरव मात्रै बढाएको छैन, अनगन्ती प्राकृतिक दृश्य र मौलिक परम्पराले गर्दा पर्यटक वृद्धि भई आर्थिक समृद्धि हासिल गर्न सघाउ पुग्नेमा दुई मत छैन । यो संसार एउटा किताब हो । यहाँ हिँड्नु, डुल्नु र अवलोकन गर्नु अक्षर पढे जस्तो । जो घुम्दैनन्, संसाररूपी पाना देखेर आउनेलाई जति चर्चा गर्न नदेख्नेलाई सहज हुँदैन । भनिन्छ, यात्राले मानिसको भाग्यको उदय हुन्छ । आशा पलाउँछ, विश्वास जगाउँछ । जस्तो कि वर्तुन थपेको दियो !    

तीन हजार सात सय मिटर उचाइमा अवस्थित विशाल से फोक्सुन्डो तालको गहिराइ १४५ मिटर छ । ४.८ किलोमिटर लम्बाइ १.६ किलोमिटर चौडाइ रहेको अनुपम आकर्षणलाई हेर्न, भेट्न, छुन र चलाउन चैत, वैशाख र जेठ तथा भदौ, असोज र कात्तिक उपयुक्त महिना हुन् । दुनैबाट दुई दिन पैदल हिँडेर हामी से फोक्सुन्डो ताल पुग्यौँ । जीवनमा एक पटक पशुपतिनाथको दर्शन गर्नु पर्छ भन्ने धार्मिक मान्यता भए जस्तै यस्ता मनोरम स्थल घुमघाम गर्ने परिपाटीको विकास किन नगर्ने ?   

हिउँ पग्लिएर बगेको पानी, ठाउँ ठाउँमा काठका छोटा छोटा पुल अनि लामा झोलुङ्गे एक एकलाई छिचोलेर अघि बढ्नु हाम्रो यात्रा चुनौतीपूर्ण थियो । कतै पाँच÷सात घरका बस्ती भेटिन्थे । जङ्गल हेर्दा यस्तो लाग्यो, गौतम बुद्धका पालाका रुख हुन् । लडेर कति कुहिएका छन् तैपनि वनको नियम झिक्न नपाइने रहेछ । हरियो वन नेपालको धन सडेर जानुको साटो उपयुक्त विधि भए देश उँभो लाग्ने गरी आर्थिक लाभ हुने थियो भन्ने लाग्यो । 

कसले बनाएका हुन्, चिटिक्क परेका ती घर ? नपढेका मिस्त्रीहरूको हातको सिप ! विद्यालय, विश्वविद्यालय पढेका इन्जिनियरको कलाभन्दा तगडा ‘डिजाइन’ लाई हेरेर आँखा अघाएनन् । तिनीहरूलाई नेपाल सरकारले इन्जिनियरको लाइसेन्स दिनुपर्ने । वास्तवमा स्वर्ग हो त्यो ठाउँ विशेषतः से फोक्सुन्डो ताल । तालको पानी चुहिएर बगेको १६७ मिटर अग्लो से फोक्सुन्डो झरना जसलाई सुलिगार्ड झरना पनि भनिँदो रहेछ । पैदल हिँड्नु पर्ने त्यो बाटोमा खच्चडको ताँतीसँग जम्काभेट भई रह्यो । बिनाटसल कर्तव्यमा हाजिर जनावरसँग कति धेरै धैर्य ! टाढा छ यद्यपि त्यहाँको प्रकृतिलाई हेर्दा अपार लाग्यो । आन्तरिक पर्यटक भएका हामीलाई त्यहाँको प्राकृतिक वातावरणले मनै फुरुङ्ङ बनायो । 

जाँदा विचित्र अप्ठ्यारो लागेको बाटो फर्कंदा थाहै नपाई अघि बढियो । हो, हामी जति जति अगाडि लम्कियौँ, उति उति पछाडि छोडियो–ताल । हिँडाइको व्रmम ठाउँ ठाउँमा बसेर थकाइ मार्दै पानी पिउँदाको आनन्द मगजभरि अमिट छ । जुत्ताले खुट्टा दुखाउँदाको सास्ती हात टेक्न मात्रै बाँकी थियो– छेप्का पुगियो । जाँदा बसेकै होटेलमा बास पाउनु अचम्मको संयोग ! माथि पुगेर फर्केका सबैका मोबाइल– भोका । सोलार बत्ती एउटा दुइटा गर्दै कतिलाई बाँड्नु ? साँझ र राति बत्ती बाल्न पुग्दैन भनेर मोबाइल अघाउन दिन्न रहेन छन्, होटल व्यवसायीले । 

“हाम्रो डोल्पालाई यसरी नै माया गरेर फेरि पनि आउनु है । से फोक्सुन्डोमाथि अपरडोल्पा जानु पथ्र्यो तर तपाईंहरूले आँट गर्नुभएन,” यति भन्दै साहुनी बहिनीहरूले खादा पहि¥याए र हामीलाई बिदा गरे । उनीहरूको त्यो सत्कार त्यो सद्भाव अनि त्यो माया आँखाभरि छाएर मुटुभित्र गडेको छ । 

रुखोपाखामा दारिम फलेका दृश्य अर्को अनौठो ! त्यस्तो चट्टानमा कसरी बिरुवा जागे ? ती वृक्ष रोपेका हुन् कि आफैँ उम्रिएका ? चुत्रो फल हो– मलाई भेउ थिएन । समूहमा हिँडेपछि थाहा पाएँ । त्यो पाक्ने सिजन रहेछ, टिप्दै खाँदै नास्ता नै भयो ।

पैदल बाटो सकिनु से फोक्सुन्डो ताल ३८ किलोमिटर पछाडि छोडियो । भेरी नदी र फोक्सुन्डो खोलाको सङ्गमस्थल सुलिगाड खोलाको झोलुङ्गे पुलले हामीलाई बाई ग¥यो । पुलवारि मुखैमा जिल्ला प्रहरी प्रमुख शिव बुढाथोकी सरले कर्णाली प्रदेश प्रहरी प्रमुखलगायत हामी सबैलाई औपचारिक बिदाइ गर्नुभयो । 

बालात्रिपुरासुन्दरी पुग्ने ध्येयमा हामी गाडी चढ्यौँ र आआफ्ना सिटमा बस्यौँ । अस्ति अप्ठ्यारो लागेको बाटो त्यो दिन चौपट्टै सहज भयो । जति बेला हामी चरी झैँ उडेर काठमाडौँबाट सुर्खेत पुगेका थियौँ । राजा हिँडाइभन्दा फरक नपर्ने सजिलोमा थियौँ । यस कारण उता जाने बाटो हिँड्दा सुरुमा दुःखको अनुभूति भयो । पछि, जब असहजलाई पार गर्दै अघि बढ्यौँ– ढुङ्गैढुङ्गाको कच्ची सडक पनि कति सजिलो ! त्यसमाथि गाडी चढ्न पाउनु धार्मिक ग्रन्थमा बयान गरिने पुष्प विमान भेटे झैँ भयो । बाङ्गोटिङ्गो बगेको भेरीले ताकेको पूर्वी किनारमाथि थपक्क बसेको थुम्कोलाई दुनै जाँदै देखेका थियौँ । झिलिमिली टल्किएको सो स्थानमा भगवतीको मन्दिर छ, पुग्नु पर्छ । रहर भए पनि मनबाहेक जान सकिएन । फर्कंदा बालात्रिपुरासुन्दरी दर्शन गर्ने योजना त्रिपुराकोट पुगियो, झन्डै एक घण्टा हुँइकिएर । 

हाम्रो धार्मिक ग्रन्थ श्रीस्वस्थानीमा वर्णन भए अनुसार त्यहाँ त्रिपुरा नामको राक्षसलाई मारिएको हुँदा त्यस ठाउँको नाम त्रिपुराकोट रहन गएको भन्ने किंवदन्ती छ । अर्को, सोही ग्रन्थमा उल्लेख भए अनुसार सतीदेवीको अङ्ग ढाड पतन भएको हुँदा भगवान् मुकुटेश्वर महादेव पीठको उत्पति भएको भनिएको छ । ‘डोल्पा त्रिपुरा–सहस्रनाम र त्रिपुरा सुन्दरीको परिचय’ नामक पुस्तिकाबाट यो जानकारी उतारेकी हुँ । जुन पुस्तिका मलाई लक्ष्मीकान्त उपाध्याय ढकालले उपलब्ध गराउनुभएको हो । त्रिपुराकोट गढीमा सातौँ शताब्दीका राजा विव्रmम शाहीको दरबार थियो । शाहीले यसै कोटगढीका विष्टलाई आफ्ना काजीका रूपमा राखेका थिए । त्यतिखेर मन्त्रीलाई काजी भन्ने चलन थियो । अहिले मन्दिर भएको ठाउँमा त्यो बेला राजाको दरबार थियो । त्यहीँ क्षेत्रभित्र धान कुट्ने ढुङ्गाको ओखल पनि थियो । धान कुट्दै जाँदा त्यो ओखलमा अनेक चमत्कार भयो । कहिले चार माना धान कुट्दा आठ माना चामल हुने, कहिले आठ माना धान कुट्दा दुई माना चामल बस्ने । धान कुटेर फ्याँकेको ढुटोबाट कसरी चामल भयो ?  

ओखलको अनौठो पक्षबारे कजिनीहरूले आफ्ना काजीहरूलाई बताए । त्यो सूचना काजी विष्टहरूले राजा विव्रmम शाहीसमक्ष जाहेर गरे । जब राजाले यस्तो अचम्मको सूचना पाए, तत्काल प्रजाहरू भेला गरेर ओखल उत्खनन गर्न लगाए भन्ने किंवदन्ती छ । त्यो ओखलको ढुङ्गोलाई उल्टाउन निकै हम्मे भयो । किंवदन्ती अनुसार ओखल तलपट्टि तामाको ओदान, ओदानमाथि घिउको कराही, कराहीमाथि तामाको थाली, त्यो थालीमाथि षट्कोणयन्त्र, त्यसमाथि कुँडे र त्यो कुँडेभित्र नवदुर्गा भवानीका नौ वाहनका स्वरूप पुतली देखिए । ओखल उत्खननका अगुवा काजी बेहोस भए र देवी शक्तिबाट बोल्न थाले ।   “हामी नौ बहिनी भगवती हौँ । पुतलीरूपी देवीहरू उडेर विभिन्न ठाउँ गइबसेका छन् । बाँकेकी बागेश्वरी, जुम्लाकी कनिका सुन्दरी, सल्यानकी खैरबाङ देवी, बैतडीकी गणसैनी त्रिपुरेश्वरी र बाजुराकी बडीमालिका । बाँकी चार बहिनी देवी, बाला, त्रिपुरा, सुन्दरी डोल्पाको त्रिपुरा सुन्दरीमा विराजमान छौँ । यहाँ विराजमान चार देवी महाकाली, महालक्ष्मी र महासरस्वतीका नामले प्रसिद्ध सबैको चोखोनितो गरी पूजाआजा गर्नू । न्यौपाने थरका पूजारीलाई नृत्य पूजापाठको जिम्मा सुम्पिनू र यस स्थानलाई विशेष किसिमले सुुरक्षा गर्नू ।” 

सन् १११४ मा त्रिपुरासुन्दरी मन्दिरको स्थापना भएको हो । प्राचीन संरचनाको चारैतिर ठड्याएका विशाल चार ध्वजावाहक काठका लिङ्ग बडो आकर्षक पाराका छन् । मन्दिरको उत्तर भागमा मुकुटेश्वर हिमाल र दक्षिणमा भैरवी गङ्गालगायत प्रसिद्ध तीर्थस्थल रहेका छन् । 

धार्मिक विशेषता नै विशेषता भएको त्रिपुरा सुन्दरीमा पूर्वराजारानीदेखि राष्ट्र प्रमुखहरू पुग्नु परापूर्वकालदेखि नै माता भगवतीले इच्छा पूरा गर्ने जनविश्वास छ । यहाँ विजयादशमी, चैते दसैँ, श्रीपञ्चमी तथा महाशिवरात्रिमा हरेक वर्ष ठुलो मेला लाग्दछ । त्यसबाहेकका दिनमा पनि दर्शनार्थीको घुइँचो हुन्छ । 

कुनै ‘भ्युटावर’ बाट देखिए जत्तिकै दृश्य कुन पोज कताबाट लिऊँ । हातमा मोबाइल क्यामरा बोकेर हिँड्ने सङ्ख्या देखेर चकित परियो । यस कारण धार्मिक आस्थाको धरोहर डोल्पाको त्रिपुरासुन्दरी पावन भूमि हो । यस पुण्य स्थलमा मेघ आएर तपस्या गरेका हुनाले खडेरी परे छिमेकी जिल्लाबाट समेत भक्तजन आएर वर्षाका देवता खुसी पार्न विधिपूर्वक पूजा अर्चना गर्ने चलन छ । जसको प्रभाव समयमा वर्षा हुने जनविश्वास रहँदै आएको छ ।   

त्रिपुरासुन्दरी नगरपालिका–१, त्रिपुराकोटमा पर्दछ– बालात्रिपुरासुन्दरी मन्दिर । धार्मिक पर्यटनको प्रचुर सम्भावना बोकेको भगवती त्रिपुरालाई भेट्न नेपालगन्जबाट जुफाल विमानस्थल नजिक पर्छ । सडक यातायात प्रयोग गर्ने भए नेपालगन्ज–सुर्खेत (छिन्छु) बाट जाजरकोट हुँदै डोल्पा पुग्ने गन्तव्य छ । 

बगरबजार भनेको डोल्पा जिल्लाकै मुख्य व्यापारिक केन्द्र हो । त्यहाँ थुप्रै होटल र पसल सञ्चालनमा छन् । मोरिम्ला धो हुँदै रुपैडिया जोड्ने सडक, कर्णाली राजमार्ग अन्तर्गत जुम्ला–डोल्पा जोड्ने सडकले पनि त्रिपुराकोट बगर बजार जोडिन्छ । बगर बजारबाट १० मिनेटको दुरीमा मन्दिर पुगिन्छ । अनौठो र मोहक दृश्य हेर्न पाइने साथै हवाई र सडक यातायातको विकासले छोएको डोल्पास्थित 

बालात्रिपुरासुन्दरी मन्दिर नेपालभित्र मात्रै नभई भारतीय नागरिकका लागि समेत प्रसिद्ध धार्मिक स्थलका रूपमा प्रख्यात छ ।