• १२ साउन २०८१, शनिबार

पिउने पानीको आशामा पुरुन्डीवासी

blog

ठाकुरप्रसाद आचार्य  

म्याग्दी (बेनी), साउन १२ गते । बेनी नगरपालिका–५, पुरुन्डी गाउँमा बर्सौंदेखि पिउने पानीको समस्या छ । १० देखि १५ घरधुरीको बिचमा रहेका पानीका धारामा मुस्किलले एक/दुई घण्टा मात्र पानी आउँछ । 

यहाँ बसोबास गर्ने करिब एक सय घरधुरीलाई पिउने पानीको निकै समस्या छ । पुलाडाँडा पुरुन्डी खानेपानी योजनाले गाउँमा खानेपानीका ट्याङ्की र प्रत्येक घरमा पानीका धारा निर्माण गरेपछि पुरुन्डीवासीमा पानी आउने आशा पलाएको छ । एक गाग्री पानी लिन घण्टौँ लाइन बस्नुपर्ने बाध्यता अहिले पनि पुरुन्डीवासीको छ । पालो पर्खिंदा धारामा पानी सुकेर रित्तो गाग्री लिएर घर फर्किनु परेको पीडा स्थानीय डिलबहादुर परियारले सुनाउनुभयो । त्यस्तै ध्रुव परियारलाई पनि बिहान÷बेलुका पानीकै चिन्ता छ । घरको आँगनमा बनेका धाराबाट पानी आउने आशामा परियार हुनुहुन्छ । 

पुरुन्डीवासीले भोगेको पानीको समस्या समाधान गर्न बेनी नगरपालिकाले अहिले ‘एक घर एक धारा’ योजना सञ्चालन गरेको छ । योजना अन्तर्गत पुरुन्डीवासीको घर घरमा पानीका धारा बनेका छन् । पुरुन्डीवासीको सपना पूरा गर्न ७० लाख रुपियाँको लागतमा पुलाडाँडा पुरुन्डी खानेपानी योजना अहिले निर्माणाधीन छ । धारो देखाउँदै डिलबहादुरले भन्नुभयो, “पिउने पानीको धेरै समस्या भोगियो, एक गाग्री पानी लिन घण्टौँसम्म पनि पालो पर्खिनुपर्ने बाध्यता छ, घरको आँगनमा बनेको धारा बनेपछि पानी आउने आशा जागेको छ । अब त हाम्रा दुःखका दिन जान्छन् होला । दुई/चार महिनाभित्रमा धाराबाट पानी खस्छ भन्छन् । पानी आउने दिन पर्खिएर बसेका छौँ ।” 

चन्द्रदेवी परियार पनि आँगनमा पानीका धारा बनेपछि खुसी हुनुहुन्छ । एक गाग्री पानी लिन एक घण्टा पैदल हिँड्नु परेको सम्झिँदै उहाँले गाउँदेखि माथि बनेको पानी ट्याङ्की देखाउँदै भन्नुभयो, “ठुलो पानीको ट्याङ्की निर्माण भइसकेको छ । घरको आँगनमा पनि  धारा बनेका छन् । अब त कसो पानी नआउला र !” चनौटेस्थित पानीको स्रोतलाई पाइलाइनमार्फत पुरुन्डीमा निर्माण भएको ट्याङ्कीमा जम्मा गरेर पानी वितरणको तयारी गरिएको छ । योजनामा ३० घनमिटरको एक वटा र २० घनमिटरको दुई वटा पानी सङ्कलन गर्ने ट्याङ्की निर्माण गरिएको छ । 

जम्मा १०५ वटा निजी धारा निर्माण भइसकेका छन् भने केही धारा निर्माणाधीन छन् । बृहत् घोप्टेखोला खानेपानी आयोजनाको पानीलाई समेत स्रोत मानेर योजना निर्माण गरिएको छ । योजनाको साइट इन्जिनियर गौरीश्वर रिजालका अनुसार योजना अन्तिम चरणमा पुगेको र फिनिसिङ र फिटिङको काम मात्र बाँकी रहेको बताउनुभयो । सङ्घीय सरकारको बजेटबाट निर्माण हुने योजना सम्पन्न गर्न बानियाँ निर्माण सेवासँग बेनी नगरपालिकाले ठेक्का सम्झौता गरेको थियो ।