• १२ साउन २०८१, शनिबार

दाङमा बढ्दै डेङ्गुका बिरामी

blog

घोराही समाचारदाता

घोराही, साउन १२ गते  । दाङका विभिन्न स्थानमा डेङ्गुका बिरामी देखा पर्न थालेका छन् । घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, तुलसीपुरको राप्ती प्रादेशिक अस्पताल र लमहीमा रहेको लमही अस्पताल तथा स्वास्थ्य केन्द्रमा पनि डेङ्गुका बिरामी उपचारका लागि आउने गरेका छन् । मनसुन सुरु भएदेखि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती प्रादेशिक अस्पताल, लमही अस्पतालमा मात्रै २१ जना डेङ्गु पोजेटिभ बिरामी देखिएका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा असारमा ११ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । यही साउन ८ सम्म थप छ जनामा डेङ्गु देखा परेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका सूचना अधिकारी निशानदाजु भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार दिनप्रतिदिन बिरामीको सङ्ख्या बढ्ने क्रममा छ ।  

राप्ती प्रादेशिक अस्पतालमा मनसुन सुरु भएयता डेङ्गु सङ्क्रमण भएका दुई जनाको भर्ना नै गरेर उपचार गर्नु परेको छ । घोराही र तुलसीपुरमा जस्तो लमहीमा बिरामी नदेखिएको लमही अस्पतालले जनाएको छ । लमही अस्पतालमा मनसुन सुरु भएयता दुई जनामा डेङ्गु पोजेटिभ देखिएको अस्पतालका प्रशासन प्रमुख हरि खनालले जानकारी दिनुभयो । उहाँका अनुसार असार महिनामा अस्पतालमा दुई जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो । साउनमा भने देखिएको छैन तर बढ्न सक्ने जोखिम रहेको छ ।

वर्षासँगै डेङ्गु गराउने लामखुट्टे बढ्न थालेकाले सङ्क्रमण बढ्न सक्ने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । विशेष गरी बजार क्षेत्रमा जथाभाबी रूपमा फालिएका सामग्रीमा पानी जम्ने र त्यसबाट लामखुट्टेबाट रोग सार्ने जोखिम बढी हुने गरेको छ । स्वास्थ्य कार्यालयले लमही, घोराही, तुलसीपुरलगायत  बजार क्षेत्रमा सफा पानी जम्मा हुने गमला, पानी ट्याङ्की, टायर, टिन जस्ता ठाउँमा डेङ्गु सङ्क्रमण गराउने लामखुट्टे पाइने भएकाले पानी जम्न नदिन आग्रह गरेको छ ।  आर्थिक वर्ष २०७९/८० मा समुदायमै डेङ्गु फैलिँदा दुई हजार चार सय पाँच जना बिरामी परेका थिए । एक जनाको ज्यान गएको थियो । आव २०८०/८१ मा करिब चार सय जनामा डेङ्गु देखिएको थियो ।