• १२ साउन २०८१, शनिबार

मुख्य सडक पैँतिस पटक अवरुद्ध

blog

अमृतप्रसाद पौडेल 

म्याग्दी, साउन १२ गते  । वर्षापछिको पहिरोले ठुलो चट्टान ल्याएर सडकमा राखेपछि बेनी–जोमसोम–कोरला सडकखण्ड अवरुद्ध भएको छ । रघुगङ्गा गाउँपालिका–२, माथिल्लो बैसरीस्थित सिरुबारीमा सडकमा चट्टान आएर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी राजन रायमाझीले जानकारी दिनुभयो । हिमालपारिको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने उक्त सडक अवरुद्ध हुँदा मुस्ताङको पवित्र तीर्थस्थल मुक्तिनाथ दर्शन तथा पूजाअर्चनाका लागि आउने साथै मुस्ताङ भ्रमणका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकलाई सास्ती भएको छ ।

यस वर्षको मनसुन सुरु भएपछि म्याग्दी जिल्लामा बाढी तथा पहिरोले गर्दा असार ५ देखि हालसम्म मुख्य सडकहरू नै ४० पटकभन्दा बढी अवरुद्ध भएका छन् । मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक र पश्चिम म्याग्दी हुँदै बागलुङको जलजला तथा ढोरपाटन एवं रुकुम जोड्ने बेनी–दरबाङ सडकमा पनि पटक पटक सास्ती भोग्नुपरेको छ । एक महिनाको अवधिमा पश्चिम म्याग्दी जोड्ने सडकखण्डको बेनी नगरपालिका–४, सिँगा र मङ्गला गाउँपालिका–२, बाबियाचौरको सिमलचौरको सिमाना फापरखेतको घुमाउने भिरमा पटक पटक अवरुद्ध भएको थियो । पछिल्लो समय बेनी–दरबाङ सडक लगातार १० दिनसम्म अवरुद्ध हुँदा पश्चिम भेकमा सोझो यातायात सञ्चालन हुन नसक्दा खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको समेत अभाव सिर्जना भएको थियो ।

पश्चिम म्याग्दी जोड्ने सडककै मालिका गाउँपालिकाको बाङ्गेभिरमा पनि पहिरो झरेर सडक अवरुद्ध हुने गरेको छ । त्यस्तै दरबाङ–ताकम सडकको बेँसीमा सडक अवरुद्ध हुँदा मालिका गाउँपालिका हुँदै धवलागिरि गाउँपालिका जोड्ने सडक अवरुद्ध हुन पुगेको थियो । बेनी–दरबाङ सडकखण्डको बेनी नगरपालिका–४, सिँगा तातोपानीस्थित फापरखेतमा गएको असार ३१ देखि साउन ६ गतेसम्म सात दिन लगातार बन्द भएको थियो भने पुनः साउन ८ देखि बन्द भएर १० गते खुलेको थियो । जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक –इन्स्पेक्टर) राजन रायमाझीले योबाहेक अन्य दिनमा पनि असार ५ यता १२५ घण्टा सडक अवरुद्ध भएको बताउनुभयो । उहाँका अनुसार बेनी–दरबाङ सडकखण्डमा मुख्य गरी बेनी नगरपालिका–४ को फापरखेतस्थित घुमाउने भिर र मालिका गाउँपालिकाको बाङ्गे पहिरोमा लेदोसहितको पहिरोले गर्दा सडक अवरुद्ध भइरहने गरेको छ । 

हिमालपारिको जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकखण्ड अन्तर्गत बैसरी, तिप्ल्याङ, भुरुङ तातोपानी तथा दाना क्षेत्रमा पटक पटक यातायात बन्द हुँदा मुस्ताङ जाने तथा फर्कने यात्रुलाई सास्ती भएको छ । सामान्य पानी परे पनि बैसरी तथा तिप्ल्याङ क्षेत्रमा सडक अवरुद्ध हुने गरेको बेनी–जोमसोम–कोरला कालीगण्डकी कोरिडोर सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनको भनाइ छ । “बेलुका सडक खुलाएर सुत्यो, राति नै बन्द हुन्छ, निकै समस्या भएको छ,” उहाँले सुनाउनुभयो । 

एक महिनाको अवधिमा बेनी–जोमसोम सडकखण्ड २२ पटक १११ घण्टाभन्दा धेरै समय बन्द रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीको रेकर्डले देखाएको छ । सडकमुनिबाट कालीगण्डकीको कटान र माथिबाट झर्ने पहिरोले गर्दा यो सडक निकै जोखिमपूर्ण मानिन्छ । भारत र चीन जोड्ने सबैभन्दा छोटो मानिने यो सडकको उचित मर्मतसम्भार गर्न सकेको खण्डमा देशलाई निकै फाइदा पुग्ने सडकको उचित तबरले दिगो स्तरोन्नति आवश्यक रहेको अन्नपूर्ण गाउँपालिका–३, दानाका वडाध्यक्ष रमेश पुर्जाको भनाइ छ । त्यसै गरी रघुगङ्गा बेल्डमा पर्ने गलेश्वर–मौवाफाँट हुँदै कुइनेमङ्गले जाने सडकको रघुगङ्गा गाउँपालिका–७, चिमखोलाको मलाङमा गत असार ८ गते बिहान पहिरो जाँदा अवरुद्ध भएको सडक एक महिनादेखि खुल्न सकेको छैन । गलेश्वर–कुइनेमङ्गले सडक अवरुद्ध हुँदा दैनिक उपभोग्य सामग्रीका साथै त्यस क्षेत्रमा निर्माणाधीन अवस्थामा रहेका तीन वटा जलविद्युत् आयोजनाको सामग्री ढुवानीमा समेत समस्या भएको रघुगङ्गा गाउँपालिका–२ का युवा झलक आचार्यको भनाइ छ । मलाङमा गएको ठूलो पहिरोले गर्दा त्यस क्षेत्रमा जाने यातायात बन्द हुँदा जलविद्युत्का साथै कुइनेमङ्गलेलगायतको क्षेत्रमा सोझो यातायात सेवा बन्द भएको छ ।

बर्सातको समयमा सडक अवरुद्ध हुने समस्या निकै भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी राजन रायमाझीले बताउनुभयो । सडक अवरुद्ध भएको जानकारी प्राप्त हुनासाथ प्रहरी खट्ने भए पनि सडक तत्काल सञ्चालनका लागि जोखिम हुने उहाँको भनाइ छ । लगातार पहिरो झरिरहेको हुन्छ, त्यस्तोमा जोखिम मोलेर सडक खुलाउनतर्फ लाग्न पनि सबैलाई जोखिम नै हुने भएकाले पनि पानी रोकिने समयसम्म पर्खनुपर्ने बाध्यता हुने उहाँ बताउनुहुन्छ । मनसुन सुरु भएपछि जिल्लामा १०३ जना विस्थापित भएका छन् भने दुई जनाको मृत्यु भएको छ । २४ वटा घर र एउटा प्रहरी बिट विस्थापित भएको म्याग्दी जिल्लामा छ घर र एउटा गोठ पूर्ण रूपमा क्षति भएको छ ।