• १२ साउन २०८१, शनिबार

पौडी खेल्नेक्रमा दुई किशोरीको ज्यान गयो

blog

कमल शर्मा

दैलेख, साउन ११ गते । दैलेखमा पौडी खेल्नेक्रममा बगेर दुई किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा महावु गाउँपालिका –३ बासीका अन्दाजी १६ वर्षिया सपना बुढा र १७ वर्षिया भावना बुढा रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।  

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक कमलप्रसाद आर्चायले बाख्रा चराउन गएको बेला पौडी खेल्नेक्रममा छामघाट खोलाले बगाउँदा दुई जना किशोरीको ज्यान गएको जानकारी दिनुभयो । उहाँले दिएको जानकारी अनुसार छामघाट खोलाले बगाएर भैरवी गाउँपालिका –५ सैनचौरनजिक र अर्को शव भैरवी गाउँपालिका –२ कइननजिक फेला परेको छ । 

स्थानीयले खेतमा रोपाइँ गर्नेक्रममा खोलामा शव तैरिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए । मृतक किशोरी सपना बुढाका अंकल प्रकाश बुढाले छुट्टाछुट्टै ठाउँमा भेटिएका शवको मुचुल्का तयार गरी पोष्ट मार्टमका लागि जिल्ला अस्पताल दैलेख लागिएको जानकारी दिनुभयो ।

उहाँले मृतक दुबै किशोरी एकै घरका दाजु भाइका छोरीहरु रहेको जानकारी दिनुभयो । बिहान ११ बजे घरबाट बाख्रा चराउन गएका उनीहरु कति बेला पौडी खेले भन्ने थाहा नभएको स्थानीयले जानकारी दिएका छन् ।