• १२ साउन २०८१, शनिबार

भत्ता वितरणसँगै ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण

blog

थेचम्बुस्थित पाथीभरा याङ्वरक गाउँपालिका कार्यालय। तस्बिर : चन्द्र पन्दाक।

चन्द्र पन्दाक

ताप्लेजुङ, साउन ११ गते। ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरणसँगै ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरेको छ। गाउँपालिकाले पालिकाभित्रका लाभग्राहीलाई वडा–वडामा पुगेर भत्ता रकम वितरण गरेको छ भने ६० वर्षमाथि उमेरका ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरेको हो।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत इक्साहाङ सुब्बाका अनुसार साउन ६ गते आइतबारदेखि बिहीबारसम्म एकीकृत घुम्ती शिविर सञ्चालन भएको थियो। गाउँपालिकाको  प्रशासकीय केन्द्र रहेको वडा २ थेचम्बुबाहेक प्रत्येक वडामा घुम्ती शिविर सञ्चालन गरिएको थियो। शिविरमार्फत सामाजिक सुरक्षा भत्ता पाउने ५३७ जना लाभग्राहीलाई भत्ता वितरण गरिएको निमित्त प्रशासकीय अधिकृत सुब्बाले जानकारी दिनुभयो।

उहाँका अनुसार ६० वर्षभन्दा माथि उमेर भएका २४६ जना ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिएको छ। सबैभन्दा बढी वडा ३ तिरिङ्गेमा ६५ जना, त्यसपछि वडा ६ थुम्बेदिनमा ५७ जना र वडा १ नाङ्खोल्याङमा ५३ जना ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिएको छ। यस्तै वडा ४ डुम्रिसेमा ३१ जना र वडा ५ चाक्सिबोटेमा ४० जना ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिएको गाउँपालिकाले जनाएको छ।

सामाजिक सुरक्षा भत्ता रकम भने सबैभन्दा वडा ६ थुम्बेदिनमा १६१ जना लाभग्राहीलाई वितरण गरिएको छ। त्यसपछि वडा १ नाङ्खोल्याङमा १२८ जना, वडा ३ तिरिङ्गेमा ९७ जना, वडा ४ डम्रिसेमा ९१ जना र वडा ५ चाक्सिबोटेमा ६० जना लाभग्राहीलाई भत्ता रकम वितरण गरिएको छ। गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बा, सम्बन्धित वडाका जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यर्की लगायतको उपस्थितिमा घुम्ती शिविर सञ्चालन गरिएको थियो।