• १२ साउन २०८१, शनिबार

अवैधरुपमा भिओआइपी सञ्चालन गर्ने दुई जना पक्राउ

blog

काठमाडौँ, साउन ११ गते । अवैधरुपमा अन्तर्राष्ट्रिय आगमन कल बाइपास (भिओआइपी)सञ्चालन गरेको अभियोगमा काठमाडौँबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको लिशङ्खुपाखर गाउँपालिका-५ घर भई बनस्थली बस्ने ४० वर्षीय भुपेन्द्र श्रेष्ठ र झापा गौरीगन्ज गाउँपालिका-४ घर भई कपन बस्ने २४ वर्षीय खुमप्रसाद गिरी रहेका छन् । सरकारको कुनै पनि निकायबाट अनुमति नलिई गैरकानुनीरुपमा भिओआइपी सञ्चालन गरिरहेको भन्ने सूचनाका आधारमा नेपाल टेलिकम र एनसेलको प्राविधिक सहयोगमा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । 

प्रहरीले वनस्थली खरिबोटस्थित भुपेन्द्रको घरबाट भिओआइपीमा प्रयोग गरिएका विभिन्न उपकरण, राउटर एक थान, आठ पोर्टको भिओआइपी गेटवे एक थान, इन्भर्टर एक थान, ब्याट्री एक थान, नेपाल टेलिकमको सीमकार्ड एक थान र एनसेलको सीमकार्ड नौ थान बरामद गरेको छ । उनीहरुमाथि दूरसञ्चार ऐन, २०५३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौँबाट पाँच दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस