• ११ साउन २०८१, शुक्रबार

काभ्रेका सहिद मुकेश : एक वर्षपछि राज्यबाट सुविधा पाउँदै परिवार

blog

दोस्रो जनआन्दोलनमा गम्भीर घाइते १७ वर्षसम्म अर्धचेत भई निधन भएका काभ्रेका सहिद मुकेश कायष्थ । फाइल तस्बिर

काभ्रेपलाञ्चोक, साउन ११ गते । दोस्रो जनआन्दोलनमा गम्भीर घाइते १७ वर्षसम्म अर्धचेत भई निधन भएका काभ्रे बनेपाका मुकेश  कायस्थको  परिवारले एक वर्षपछि राज्यबाट सुविधा पाउने भएको छ । अर्धचेत भई शय्यामै ‘जीवन-मरण’को अवस्था रहनुभएका बनेपा नगरपालिका-८ का ३२ वर्षीय मुकेशको उपचारको क्रममै वि.सं.२०८० वैशाख २७ गते अस्पतालमा निधन भएको थियो ।

वि.सं.२०८० जेठ २ गते मुकेशलाई तत्कालीन सरकारले सहिद घोषणा गरेको थियो । यसपछि मुकेशको परिवारले केही प्रविधिक त्रुटिका कारण राज्यबाट पाउने सुविधा पाएको थिएन । सहिद घोषणा राजपत्रमामा प्रकाशित हुँदा निधन भएको मिति नमिलेपछि सुविधा पाउनबाट एक वर्षदेखि मुकेशको परिवार वञ्चित रहँदै आएको थियो । मुकेशको परिवारले गृहमन्त्री रमेश लेखकलाई भेटी आफूले राज्यबाट सुविधा पाउनबाट भएको वञ्चितिबारे जानकारी गराएपछि सरकारको तर्फबाट सहिदले पाउनेसरह सबै सुविधा पाउने भएको हो । 

सहिद मुकेशकी आमा मीरा कायस्थले बुधबार गृहमन्त्री लेखकसँग भेटी उक्त जानकारी गराएपछि लेखकले राज्यबाट पाउने सुविधा दिइने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । “हामीले गृहमन्त्रीलाई भेटेर आयौँ, उहाँले सङ्घीय लोकतन्त्रिक गणतन्त्र स्थापनामा सहिद मुकेश कायस्थको योगदान छ, केही प्राविधिक त्रुटि सच्याएर राज्यबाट पाउने सुविधा सबै दिलाउँछौँ, मेरो प्रतिबद्धता छ भन्नुभएको छ”,  कायस्थखे  भन्नुभयो । उहाँले यसअघि राज्यबाट सहिद परिवारले पाउने कुनै पनि सुविधा नपाएको बताउनुभयो । 

“राज्यबाट पाउनुपर्ने सबै सुविधा पाउनुपर्यो भन्नका लागि गृहमन्त्री भेट्न गएका हौँ, उहाँले सुविधान प्रदान गर्न छिट्टै प्रक्रिया अघि बढाउने भन्नुभएको छ, आशावादी भएका छौँ”, कायष्थले भन्नुभयो । सरकारले मुकेशको उपचार खर्च, १५ हजार मासिक भत्ता, एक सुसारेको लागि छ हजार दुई सय भत्ता र एक नर्स नियमित उपलब्ध गराउँदै आएको थियो । यस्तै २०७८ मा तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको संयोजकत्वमा रहेको ‘लोकतन्त्रका योद्धा, अभिलेखीकरण तथा सम्मान समिति’ले जनआन्दोलनमा खेलेको योगदानको उच्च मूल्याङ्कन गर्दै मुकेशलाई ‘लोकतन्त्रका योद्धा’ सम्मान प्रदान गरेको थियो । 

सरकारले उक्त परिवारको बैंकको सात लाख ऋण मिनाहा गरिदिएको थियो । मुकेश दोस्रो जनआन्दोलन (२०६२-६३)मा गम्भीर घाइते भई विभिन्न अस्पतालमा उपचार गर्दा पनि अर्धचेत अवस्थामै रहेपछि कायस्थ परिवारले निकै पीडा खेप्दै आएको थियो । आन्दोलनका क्रममा २०६२ चैत २७ गते १५ वर्षका मुकेशलाई बनेपाको तीनदोबाटोमा बायाँ कञ्चटमा सुरक्षाकर्मीको गोली लागी गम्भीर घाइते हुनुभएको थियो । त्यस दिनदेखि उहाँको होस खुल्न सकेको थिएन भने बायाँ हात र गोडा राम्रोसँग चल्दैनथ्यो । 

गोलीको घाउ निको भए पनि मुकेशको टाउकोमा गहिरो खाल्डो थियो । बनेपाको विद्या सागर स्कुलमा कक्षा ८ मा अध्ययनरत मुकेश जनआन्दोलनमा घाइते हुँदा १५ वर्षका हुनुहुन्थ्यो । मुकेश घाइते भएको केही समयपछि उहाँको उपचारार्थ सहयोग एवम् समन्वयका लागि ‘मुकेश फाउण्डेशन’समेत स्थापना गरिएको थियो । गोली लागेर घाइते हुनुएको दिनदेखि ‘ओछ्यान’मा पर्नुभएका मुकेशलाई ‘ज्यूँदा सहिद’ भन्ने गरिँदै आइएको थियो । 

मुकेश ओछ्यानबाट कहिल्यै उठ्न नसकी १७ वर्षदेखि जीवन र मृत्युसँग लडिरहनुभयो । परिवार र स्वास्थ्यकर्मीको निरन्तरको स्याहार र उपचारपछि देब्रे हात केही हल्लाउने, आमा भन्ने, केही हाँस्ने, गिलो खाने कुरा खानसक्नेसम्म हुनुएका मुकेश २०७५ असारमा थप बिरामी परेपछि परिवार निकै चिन्तामा पर्‍य ाे । बाबा-आमा भनेर बोलाउला भन्ने आशामा मुकेशको स्याहार सुसारमा दिनरात नभनेको कायस्थ परिवारलाई आशा मरेको थिएन । 

लामो समय उपचारका क्रममा चपाएर खाना खान नसक्ने मुकेशलाई झोल वा गिलो प्रकारका खानेकुरा खुवाउँदै आइएकोमा बिरामी परेपछि पेटमै पाइपद्वारा खानेकुरा दिइँदै आइएको थियो । चिकित्सकका अनुसार मुकेशको टाउकोमा जम्ने पानी निस्कने पाइप समयसमयमा बन्द हुने हुँदा स्वास्थ्यमा थप समस्या हुँदै आएको थियो । थप बिरामी परेपछि मुकेश दुब्लाउँदै गएको, पहिले जस्तो हाँस्न र सकेको बोल्न छाड्दा उनीहरुलाई ‘पीरमाथि पीर’ थपिँदै गयो । 

कसैले उहाँको नाम लिएर बोलाउँदा ‘हँ ह, माँ’ भनेर बोल्नसक्ने मुकेश पछिल्लो वर्षदेखि बोल्न सक्नुभएको थिएन । छोराको विषयमा जो कोहीसँग कुराकानी गर्दा मुकेशका बाबुआमा निकैबेर भक्कानिनुहुन्थ्यो । मुकेश परिवारको एक्ला छोरा हुनुहुन्थ्यो । “परिवारको एक्लो छोरा पनि आन्दोलनमा अर्धचेत हुनेगरी घाइते भएपछि हाम्रो हालत के भएको होला, त्यत्रा वर्षसम्म ओछ्यानमै रहेर हामीलाई छोडेर गयो !” मुकेशका बाुब कृष्णमानले भन्नुभयो । 

बिरामी परेयता मुकेश दाँया हात र दुवै गोडा थोरै मात्रामा चलाउन सक्नुहुन्थ्यो । आफन्तका अनुसार आमा वा बाबुमध्ये कोही केही समय नजिक नभए मुकेश रुने गर्नुहुन्थ्यो । मुकेशको चेत खुल्नसके थप सहयोग मागेर भए पनि उपचारका लागि अझै कतै लैजान सकिन्छ कि, भन्ने आशामा बसेको थियो कायस्थ परिवार । तर, देश-विदेशका चिकित्सकले थप उपचार गर्न नसकिने सल्लाह दिएको सम्झँदै छोराको भविष्य चकनाचुर भएकोमा मर्माहित थियो उक्त परिवार । आन्दोलनका घाइते र सहिदलाई सरकारले सम्झिरहोस् भन्ने चाहना कायस्थ दम्पतीको छ । 

दोस्रो अनआन्दोलनका क्रममा काभ्रेपलाञ्चोकका चार युवाले ज्यान गुमाएका थिए । आन्दोलनमा नालाका भीमसेन दाहाल पोखरामा, पनौतीका सगुन ताम्राकार कलङ्कीमा, भिमखोरीका शिवहरि कुँवर बनेपामा र नाग्रे गगर्चेका सुनिलकुमार लामा काठमाडौँको जोरपाटीमा मारिनुभएको थियो । उक्त आन्दोलनमा जिल्लाका ४० जना घाइते भएका थिए । रासस