• १२ साउन २०८१, शनिबार

‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’

blog

फाइल तस्बिर

काठमाडौँ, साउन ११ गते । सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको विमान दुर्घटनामा निधन भएकोप्रति मर्माहत र भावविह्वल भएको जनाएको छ । 

सौर्य एयरलाइन्सका अध्यक्ष दीपककुमार पोखरेलले विज्ञप्ति जारी गर्दै दुर्घटनामा परी ज्यान गुमाउने प्रतिष्ठित तथा विज्ञहरुको क्षतिबाट कम्पनीले मात्रै नभई परिवार, समाज र राष्ट्रसमेतले ठूलो क्षति व्यहोरेको उल्लेख गर्दै यस दुःखद घडीमा शोकसन्तप्त परिवार र आफन्तजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भनी कामना गर्नुभएको छ ।

पीडित परिवारजनलाई कम्पनीको तर्फबाट हुनसक्नेसम्मको सहयोग, साथ र सद्भाव सधैँ रहने एयरलाइन्सले विज्ञप्तिमार्फत जनाएको छ । “सौर्य एयरलाइन्सको व्यावसायिक विकास र विश्वसनीयता आर्जनका लागि उहाँहरुले निष्ठापूर्वक पुर्‍य ाउनुभएको साथ, सहयोग र योगदानको उच्च कदर गर्दै यस संस्थाले सधै जीवन्त एवम् चिर स्मरणीय इतिहासको रुपमा संरक्षण गर्ने विश्वास व्यक्त गर्दछौँ”, विज्ञप्तिमा भनिएको छ ।

कम्पनीले विमान दुर्घटनामा परी बाँच्न सफल क्याप्टेन मनीषरत्न शाक्यको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । यही साउन ९ गते बुधबार सौर्य एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा विमानमा सवार चालकदलका सदस्यसहित १९ मध्ये १८ जनाको मृत्यु भएको थियो । 

सो दुर्घटनामा क्याप्टेन मनीषरत्न शाक्य बाँच्न सफल हुनुभएको छ । दुर्घटनाका घाइते क्याप्टेन शाक्यलाई तत्काल उद्धार गरी सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजमा ल्याई सघन उपचार कक्षमा उपचार गरिएको थियो । अहिले क्याप्टेन शाक्यको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । रासस