• १२ साउन २०८१, शनिबार

कोशी सरकारबाट बाहिरिँदै माओवादी

blog

शशिधर पराजुली

विराटनगर, साउन ११ गते । नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलको बैठक आज दिउँसो ३ बजे बस्ने भएको छ । कोशी प्रदेश सरकारको विषयमा छलफल गर्न संसदीय दलको बैठक बस्न लागेको हो । 

नेपाली कांग्रेस र नेकपा एमालेबिच केन्द्रमा गठबन्धन बनेपछि कोशी प्रदेशमा पनि सोही अनुसार राजनीति अघि बढ्ने अवस्था रहेकोले त्यस विषयमा संसदीय दलको बैठकमा छलफल हुने नेकपा माओवादी केन्द्र संसदीय दलले जनाएको छ । 

संसदीय दलको बैठकले सरकारमा सहभागी मन्त्रीहरुलाई राजीनामा गर्न निर्देशन गर्ने सम्भावना छ । बैठकपछि आजै माओवादीका मन्त्रीहरुले राजीनामा गर्ने एक जना मन्त्रीले जानकारी दिनुभयो । 

नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले आज संसदीय दलको बैठक बस्ने र सरकारको विषयमा छलफल गर्ने जानकारी दिनुभयो । उहाँले बैठकपछि निर्णय सार्वजनिक गर्ने जानकारी दिनुभयो । "आज हाम्रो दलको बैठक बस्छ र त्यसले गर्ने निर्णय त्यसपछि सार्वजनिक गर्छौं," उहाँले भन्नुभयाे ।

कोशी प्रदेशमा नेकपा माओवादीबाट तीन जना मन्त्री र एक जना राज्यमन्त्री सरकारमा सहभागी छन् । 

संविधानको धारा १६८ को उपधारा ५ बमोजिम नेकपा एमालेका ३९ जना र नेकपा माओवादीका १३ जना सांसदको समर्थनमा गत वैशाख २७ गते एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । 

पछिल्लो गठबन्धनमा कोशी प्रदेश सरकारको मुख्यमन्त्री नेकपा एमालेले नै पाउने सहमति भएको छ । त्यसहिसाबले नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री कार्कीले नेपाली कांग्रेसलाई सरकारमा सहभागी गराउनुहुनेछ ।