• ११ साउन २०८१, शुक्रबार

सरकारको प्राथमिकतामा पर्यटन उद्योग

blog

होटल ब्यवसायी महासङ्घ लुम्विनी प्रदेशको साधारणसभाको उद्घाटन गर्दै सँस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्रीप्रसाद पाण्डे । तस्बिरः गोविन्द शर्मा

गोविन्द शर्मा

बाँके, साउन ११ गते । सँस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्रीप्रसाद पाण्डेले आर्थिक विकास र समृद्धिका लागि पर्यटन क्षेत्र सरकारको पहिलो प्राथमिकतामा रहेको बताउनुभएको छ । 

होटल ब्यवसायी महासङ्घ लुम्विनी प्रदेशको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनको शुक्रबार नेपालगञ्जमा उद्घाटन गर्दै मन्त्री पाण्डेले पर्यटन विकासका लागि नेपाली संस्कारअनुसार पाहुनालाई व्यवहार हुनुपर्ने बताउनुभयो । मन्त्री पाण्डेले भन्नुभयो, ‘पर्यटनक्षेत्र विस्तारै लय समात्ने क्रममा छ, अर्थतन्त्र बलियो बनाउन होटल क्षेत्रको मुख्य भुमिका रहन्छ ।’

उहाँले पर्यटन नीति र ऐन निर्माण र संशोधनमा ध्यान दिइने बताउनुभयो । उहाँले गौतम बुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल छिटोभन्दा छिटो सञ्चालनका लागि पहल गरिने बताउनुभयो । लुम्बिनी प्रदेशसभा सदस्य रत्न खत्रीले पर्यटन विकासका लागि राज्यको नीति र व्यवहारमा सुधार हुन आवश्यक रहेको बताउनुभयो । पर्यटकलाई गरिने व्यवहार मैत्रीपूर्ण हुनुपर्ने उहाँले जोड दिनुभयो ।

होटल ब्यवसायी महासङ्घका अध्यक्ष भाष्कर काफ्लेले प्रदेशभित्र साना–ठुला गरी करिब ११ हजार होटल ब्यवसाय सञ्चालनमा रहेको भन्दै उहाँहरुका लागि विशेष सहयोगका कार्यक्रम ल्याउन माग गर्नुभयो । प्रदेशभित्र होटल ब्यवसायमा करिब ६० हजारले प्रत्यक्ष रोजगारी पाएको उहाँले बताउनुभयो । राज्यले होटल ब्यवसायीलाई हेर्ने दृष्टिकोणमा परिबर्तन हुन आवश्यक रहेको उहाँले आग्रह गर्नुभयो ।

यस क्षेत्रमा लुम्बिनीमा करिब दुई खर्ब बराबरको लगानी रहेको उहाँको भनाइ छ । होटल ब्यवसायबाट बार्षिक ४० करोड कर राज्यले सङ्कलन गर्नेगरेको छ । अधिबेशनमा प्रदेशभरका १८ सस्थाका १५० बढी प्रतिनिधिको सहभागिता रहेको छ ।