• ११ साउन २०८१, शुक्रबार

तालचोक-बेगनास सडक विस्तारमा ढिलासुस्ती

blog

निर्माणका केही काम थालिएको र निर्माण सामग्री माटो बाटोमै राख्दा लामो समयदेखि बन्द तालचोक–बेगनास सडक । तस्बिर : फडिन्द्र अधिकारी/गोरखापत्र

फडिन्द्र अधिकारी

लेखनाथ, साउन १० गते । पोखरा महानगरमा लेकसाइडपछि पर्यटकको रोजाइमा पर्छ बेगनास ताल । बेगनाससहित साबिक लेखनाथको पर्यटन र जनजीवन अहिले बाटोका कारण प्रभावित बनेको छ । पोखरा–२७ तालचोकदेखि पोखरा–३१ बेगनासताल पुग्ने सडक निर्माण कछुवा गतिमा हुँदा स्थानीय र पर्यटक दुवै सास्ती भोग्न बाध्य छन् ।

गएको असार २० गते सडक निर्माण सक्नुपर्नेमा अहिलेसम्म २१ प्रतिशतमात्र काम भएको छ । बेगनास र रुपा गाउँपालिकासहित लमजुङ जानेहरु हिलो, धुलो सहँदै वैकल्पिक बाटो खोज्न बाध्य छन् । लेखनाथ उद्योग वाणिज्य संघका उपाध्यक्ष राजेन्द्र ओझा व्यवसायी पलायन हुने अवस्था आएको र सर्वसाधारणसमेत हिंड्न कठिन अवस्था भएको बताउनुहुन्छ ।

“जेठअघि धूलोले समस्या थियो, अहिले हिलोले हैरान छ । सडकमा माटो र निर्माण सामग्री राख्दा आवागमन पूरै ठप्प छ,” उहाँ भन्नुहुन्छ, “व्यापार, व्यवसाय त चौपट नै छ, हिंडडुल गर्नसमेत सकस छ ।” यो सडक निर्माणका लागि ७५ करोड ४८ लाख ६७ हजारमा स्वच्छन्द सपना एन्ड वाइड जेभीले जिम्मा पाएको थियो । 

२०७९ असारमा दुई वर्षमा काम सक्ने सम्झौता गरेको कम्पनीले जिम्मा दिएको अर्काे कम्पनीले काम नगर्दा बाटो अलपत्र परेको थियो । ठेक्काअघि नै परामर्शदाता छनोट हुनुपर्नेमा सम्झौता भएको सात महिनापछि मात्र छनोट गरिएको थियो । २०७९ भदौमा पाँच करोड पेस्की लिएको निर्माण कम्पनीले २०८० असारबाट मात्र काम सुरु गरेको थियो।

पोखरा महानगरपालिका वडा नम्बर २७ का अध्यक्ष पूर्णकुमार गुरुङ काम सुरु नै सम्झौता भएको एक वर्षपछि हुनु र बिचमा अनेक समस्या आउँदा चरम ढिलासुस्ती भएको बताउनुहुन्छ । “काम सक्नुपर्ने बेलासम्म एक चौथाइ पनि काम भएको छैन, लेखनाथबासी र पर्यटकलाई यो बाटोले असह्य सास्ती भएको छ,” उहाँ भन्नुहुन्छ । 

निर्माण कम्पनीले गएको अहिले करिब एक सय कामदार फिल्डमा खटाएको छ । वर्षाको समय भएकाले मुख्य निर्माणभन्दा अरु काममा कामदार लागेका छन् । आयोजनाका परामर्शदाता इन्जिनियर दिल राना अहिलेसम्म आर्थिक प्रगति १७ प्रतिशत र भौतिक प्रगति २१ प्रतिशत भएको बताउनुहुन्छ । 

यो सडकबारे पोखरा महानगरपालिकाले सहरी विकास मन्त्रालय, विकास साझेदार विश्व बैंक, निर्माण कम्पनी र परामर्शदातासँग छलफसमेत गरेको छ । छलफलमा स्वच्छन्द सपना एन्ड वाइड जेभीका सञ्चालक जयराम लामिछानेले चाँडोभन्दा चाँडो तीन प्याकेज बनाएर काम गरिने वाचा गर्नुभएको छ । 

“ड्रेन एन्ड स्ट्रक्टर, ब्रिज र पेभमेन्ट गरी तीन प्याकेज बनाएर काम गर्छाैं,”, उहाँ भन्नुहुन्छ, “क्याच अप प्लान (अर्थात् व्यतीत भइसकेको परियोजनाको समयावधिमा हुनुपर्ने कामको अनुपातमा परियोजनाको भौतिक प्रगति) अनुसार काम गर्छाैं । विश्व बैंकको समयसीमामै काम सक्छौँ ।”

पोखरा महानगरका प्रमुख धनराज आचार्यले मुख्य निर्माण कम्पनीले जनाएको प्रतिवद्धताले सडक निर्माणले चाँडै गति लिने अपेक्षा गर्नुभयो । उहाँ भन्नुहुन्छ, “तत्काल फिल्डमा काम थाल्न र हरेक हप्ता महानगरलाई प्रगति विवरण पठाउन भनेका छौँ ।” 

तालचोक–बेगनास सडक पोखरा–मुग्लिन राजमार्गसँग पनि जोडिएको छ । विश्व बैंकले दिएको समयसीमा एक वर्षमात्र बाँकी रहँदा काम नसकिए अनुदान फिर्ता जाने र बाँकी रकम आफैंले हाल्नुपर्ने अवस्था आउनेबारे सचेत रहेको प्रमुख आचार्यले बताउनुभयो । “विश्व बैंकले पोखराको सडकमा ठूलो लगानी गरेको छ । समयमै काम सके एकातिर विकास साझेदारको विश्वास आर्जन हुन्छ भने अर्कातिर सिङ्गो लेखनाथ क्षेत्रको विकासले नै कोल्टे फेर्छ,” उहाँले भन्नुभयो ।

चार लेनको यो सडक विश्व बैंकको आर्थिक सहयोगमा बन्न लागेको हो । तीन दशमलव २८ किलोमिटरको सडक फुट ट्रयाक, साइकल लेन, डिभाइडर र पार्किङसहितको नुमना बन्नेछ । महानगरपालिकाको सडक शाखाका इन्जिनियर नवीन गौतम सडक छेउमा बगैँचा, सडक बत्तीलगायत आकर्षक पूर्वाधारसहितको बाटो बन्ने योजना सुनाउनुहुन्छ ।