• ११ साउन २०८१, शुक्रबार

मालिका गाउँपालिकामा ‘एक घर , एक धारा’

blog

म्याग्दी,  साउन ११ गते ।  म्याग्दीको मालिका गाउँपालिका–७ बिमको डाडागाउँमा निजी धारासहितको खानेपानी आयोजना निर्माण सम्पन्न भएको छ । नेपाल पानीको लागि स्वास्थ्य (नेवा) संस्था, मालिका गाउँपालिका र उपभोक्ताको रु ३२ लाख ९७ हजार सात सय ३२ को लागतमा आयोजना निर्माण सम्पन्न भएको हो । आयोजनाबाट ५६ घरपरिवार, एक विद्यालय, एक स्वास्थ्यचौकीमा निजी धारा जडान गरेर खानेपानी वितरण गरिएको वडाध्यक्ष टकलाल पुनले जानकारी दिनुभयो ।

तीन सय ३४ जनसङ्ख्या लाभान्वित भएका उहाँले बताउनुभयो । यसअघि सार्वजनिक धारामार्फत खानेपानी वितरण हुने गरेको थियो । घरआँगनकै धारामा नियमित पानी आपूर्ति हुन थालेपछि उपभोक्ताको समयको बचत भएको स्थानीयवासी टुकमान जुग्जालीले बताउनुभयो ।

“धाराबाट पानी ओसार्दा हुने दुःख र झन्झट हटेको छ”, उहाँले भन्नुभयो, “स्थानीयवासीको दैनिकी र जीवनशैली परिवर्तन भएको छ ।” स्वास्थ्य र सफा खानेपानी आपूर्ति हुन थाले पनि दूषित पानीका कारण हुने स्वास्थ्य समस्या कम हुने अपेक्षा गरिएको छ । खानेपानीको व्यवस्थित र मितव्ययी प्रयोगका लागि मिटर जडान गरी हेरालु राखिएको छ । 

नेवाको रु. १७ लाख ४० हजार आठ सय १३, गाउँपालिकाको रु. छ लाख दुई हजार छ सय ४९ लगानी भएको आयोजना निर्माणका लागि रु. एक लाख ६८ हजार छ सय ९३ नगद सङ्कलन गरेका उपभोक्ताहरुले रु. सात लाख ८५ हजार पाँच सय ७७ बराबरको श्रमदान गरेका उपभोक्ता समितिले जनाएको छ ।

आयोजनाको बिहीबार मालिका गाउँपालिकाका उपाध्यक्ष लक्ष्मीदेवी घर्ती पुनले शुभारम्भ गर्दै स्वस्थ र स्वच्छ खानेपानी सुविधामा पहुँच बढाउन नेवासँगको साझेदारीमा डाँडागाउँसहित मालिका गाउँपालिकामा छवटा एक घर, एक धारासहितको खानेपानी आयोजना निर्माण भएको बताउनुभयो । रासस