• ११ साउन २०८१, शुक्रबार

राम्रो कर्म गरे, राम्रै फल पाइन्छ : मुख्य सचिव गड्तौला

blog

काठमाडौं, साउन १० गते । नवनियुक्त मुख्यसचिव लीलादेवी गड्तौलाले ‘जस्तो कर्म ग¥यो, त्यस्तै फल प्राप्त हुने बताउनु भएको छ । 

नवनियुक्त मुख्यसचिव गड्तौलाले निजामति सेवामा राम्रै कर्म गरेको परिणामकारूपमा यो जिम्मेवारी प्राप्त भएको प्रतिक्रिया दिनुभयो ।

 उहाँले भन्नुभयो, “प्रधानमन्त्री केपी ओलीको नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद्ले मलाई कामु मुख्यसचिवको जिम्मेवारी  दिएको थियो । दश दिनपछि मुख्यसचिवमा बिहीबार नियुक्त गरेको छ । यो सरकार महिलाप्रति उदार छ भन्ने देखियो, न्याय सेवाको कर्मचारीलाई मुख्यसचिवको जिम्मेवारी दिनुभएको छ, वर्तमान सरकारप्रति धन्यवाद छ ।” 

इमान्दार भएर काम गरेमा कही न कही मूल्याङ्कन र अवसर प्राप्त गर्ने रहेछ भन्ने सन्देश समस्त निजामति कर्मचारीमा गएको बताउँदै मुख्यसचिव गड्तौलाले महिलालाई माथिल्लो तहको जिम्मेवारीमा दिन हिचकिचाउँछन् भन्ने भाष्य परिवर्तन हुँदैगएको धारणा व्यक्त गर्नुभयो ।

निजामती कर्मचारीमा प्रवेश गरेका कर्मचारीमा मुख्यसचिव बन्ने लक्ष्य हुने बताउँदै उहाँले भन्नुभयो, “त्यसमा केही पुगिन्छ, कोही पुगिन्न । केही सचिव र सहसचिवमा पुगिन्छ, कोही तलैबाट बाहिरिनुपर्छ । भाग्य छ भन्दैमा डोकोमा दूध अडिन्न, कर्म गर्नुपर्छ, राम्रो कर्म गरे राम्रो फल पाइन्छ ।”

राज्यबाट जनतालाई प्रदान गरिने सेवाप्रवाहमा सहज र सरल तुल्याउन सम्पूर्ण राष्ट्रसेवक निजामति कर्मचारी मिलेर काम गर्नुपर्ने आवश्यकता औँल्याउदै मुख्यसचिव गड्तौलाले संसदमा

अड्किरहेको निजामति विधेयकलाई अघि बढाउन र राम्रो कर्म गर्ने कार्यलाई प्रोत्साहन र प्रेरणा प्रदान गर्न लागि पर्ने दृढता व्यक्त गर्नुभयो । 

वर्तमान सरकारले नै उहाँलाई असार ३१ गते निमित्त मुख्यसचिवबाट कामु मुख्यसचिवको जिम्मेवारी दिएको थियो । विसं २०२३ साल भदौ १५ मा ते¥हथुममा जन्मनुभएकी गड्तौला विसं २०५२ मा नेपालको निजामति सेवाको न्याय समूहको शाखा अधिकृतबाट राष्ट्र सेवामा प्रवेश गर्नुभएको थियो ।

विसं २०६३ मा उपसचिव, विसं २०७० मा सहसचिव, २०७७ मा सचिवमा बढुवा हुनुभएको थियो । उमेर हदका कारण उहाँ आउँदो भदौ १५ बाट सेवा निवृत्त हुनुहुनेछ । रासस