• १२ साउन २०८१, शनिबार

सातदोबाटे – पन्थिनी – गाईखुर सडक सुचारु

blog

गुणबहादुर रोका

सुलीकोट, साउन १० गते । गोरखामा अविरल वर्षाका कारण सातदोबाटे – पन्थिनी – गाईखुर सडक खण्ड १ महिना पछि सुचारु भएको छ । असारको पहिलो हप्ता देखि परेको अविरल वर्षाका कारण सातदोबाटे – पन्थिनी – गाईखुर सडक खण्डको चाँपपानी, बाघडाडा र पन्थिनीमा ठुलो पहिरोले ढुङ्गा माटोसहितको पहिरो गएपछि बुधवार पालुङटार नगरपालिकाको सहयोगमा पहिरो पन्छाएर सडक सुचारु गरिएको हो । 

४० मिटर माथिबाट खसेको पहिरोले सडक खण्डहरूमा ढुङ्गा, माटो र ठुला रुखहरूलाई पन्छाउन पालुङटार नगरपालिकाको जेसिबी प्रयोग गरी १ महिना पछि सडक पूर्णरुपमा सञ्चालनमा आएको पालुङटार नगरपालिकाका – १० का वडा अध्यक्ष रिखीराज धौरालीले जानकारी दिनुभयो । 

उहाँका अनुसार यस सडक गोरखा सदरमुकामबाट पालुङटार नगरपालिका वडा नम्बर १ र वडा नम्बर १० हुँदै पालुङटार नगरपालिकाको कार्यालय जाने मुख्य बाटो भएकाले पनि त्यस ठाउँका स्थानीयहरू अर्को बाटो भएर सदरमुकाम र नगरपालिकाको कार्यालय जानुपर्ने बाध्यता थियो । यातायातका सवारी साधन नचल्दा मिरकोटबासी एक महिना सम्म मर्कामा परेका पालुङटार नगरपालिकामा गएर वडा नम्बर १० का स्थानीयहरू डेलिकेशन गएपछि मात्र बाटो सुचारु भएको स्थानीय बासिन्दा धनबहादुर खड्काले बताउनुभयो । ग्रामीण सडक भएकाले पनि बर्खाको समयमा धेरै ठाउँमा पहिरो गएकाले धेरै समय लागेको नगरपालिकाले जनाएको छ ।

 सडक सुचारु भएपछि गोरखा नगरपालिका र पालुङटार नगरपालिकाबाट आवतजावत गर्ने यात्रुवाहक सवारी साधन सुचारु हुन थालेका जिल्ला प्रहरी कार्यालय गोरखाको प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

 असार पहिलो हप्तादेखि परेको अविरल वर्षाका कारण गोरखाका ग्रामीण इलाकामा चल्ने सम्पूर्ण सवारी साधनहरू बाटो अवरुद्ध भएका कारण यात्रुवाहक बसहरू चल्न नसकेको प्रहरीको भनाइ छ । जिल्लाका अधिकांश पालिकाहरूमा पहिरोका कारण विभिन्न स्थानमा अत्यधिक मात्रामा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।