• १० साउन २०८१, बिहिबार

नेपाली चियाको अन्तर्राष्ट्रिय बजार सुध्रिँदै

blog

कोकिला ढकाल

इलाम, साउन १० गते । कोभिड–१९ को सङ्क्रमणपछि थलिएको नेपाली चियाको अन्तर्राष्ट्रिय बजारमा यो वर्षदेखि सुधारको सङ्केत देखिएको छ । निर्यात वस्तुमध्ये राम्रो सम्भावना रहेको नेपाली अर्गानिक चियाको माग पनि यो वर्ष उच्च रहेको चिया व्यवसायीले बताएका छन् । 

विगत लामो समययता अर्गानिक चिया उत्पादन गरेर विदेशमा बिव्रmी गर्दै आएका इलाम जसबिरेका चिया व्यवसायी शरद सुब्बा यो वर्ष आफ्नो उत्पादनको माग राम्रो आएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “यो साल विदेशी व्यापारीले पहिला नै पैसा पठाएर चिया बुकिङ गरेका छन् । एक सुइरो चिया त माग अनुसार पु-याउन मुस्किल छ ।” उहाँका अनुसार यो वर्ष दुई हजार किलो स्पेसल चियाको माग छ तर उत्पादन पनि कम भएकाले उहाँले एक हजारदेखि एक हजार पाँच सय किलो मात्र चिया पु-याउन सक्ने अनुमान गर्नुभएको छ । 

तयारी चियाको बजारमा सुधार आएर व्यापारीले पनि राम्रै मूल्य दिएकाले सुब्बाले आफ्ना किसानलाई पनि हरियो पत्तीको मूल्य बढाएर दिएको बताउनुभयो । उहाँले किसानको हरियो चियालाई प्रतिकिलो ६५ रुपियाँदेखि प्रतिकिलो एक हजार छ सय रुपियाँसम्म दिने गरेको बताउनुभयो । सुब्बाले उत्पादन गरेका कोठीडाँडा, सुनकेशरी, गोल्डन टी, गोल्डन हनी, ओलाङ, आमा टी निकै स्वादिलो र विदेशी बजारबाट माग बढी आउने तयारी चियाका प्रकार हुन् । यो वर्ष फरक स्वादमा रेडपान्डा टी नाम दिएर अर्को चिया तयार गरेको सुब्बाले बताउनुभयो । 

अघिल्लो वर्ष चिनमा आयोजित ‘टी एक्स्पो’ मा ग्रान्ड गोल्ड मेडल पाउन सफल भएको इलामको फाकफोकथुमस्थित तीनजुरे चिया कारखानामा पनि यो वर्ष चियाको माग राम्रो छ । गोल्डेन, ब्याल्क टी र ग्रिन टीलगायतका फरक जातका २० क्विन्टल तयारी चिया फ्रान्स पठाएको कारखानाका व्यवस्थापक दिनेश श्रेष्ठले बताउनुभयो । श्रेष्ठले कोरिया र नेदरल्यान्डमा पनि स्याम्पल पठाएको बताउनुभयो । गत वर्ष १३ हजार किलो तयारी चिया उत्पादन गरेको तीनजुरेमा यो वर्ष पनि उत्पादन गत वर्षकै जस्तो हुने अनुमान गरिएको श्रेष्ठको भनाइ छ । 

यता साँखेजुङ्गस्थित ग्रिन हिल टी इन्डस्ट्रिजले यो वर्ष आठ हजार किलो चिया विदेश निर्यात गरेको छ । इन्डस्ट्रिजले तीन हजार पाँच सय किलो चिया जर्मनी निकासी गरेको इन्डस्ट्रिजका सञ्चालक टङ्क दाहालले बताउनुभयो । उहाँले भन्नुभयो, “माग अनुसारको गुणस्तरीय चिया पु-याउन त गाह्रो छ । यो वर्ष हरियो पत्ती पनि गत वर्षभन्दा कम उत्पादन भएको छ । यो वर्ष भारतमा भन्दा तेस्रो मुलुकमा हाम्रो चियाको माग राम्रो छ ।” दाहालका अनुसार ग्रिन हिलमा गत वर्ष ५५ हजार किलो तयारी चिया उत्पादन भएको थियो तर यो वर्ष भने ४० देखि ४२ हजार किलो मात्र तयारी चिया उत्पादन हुने उहाँको अनुमान छ । तेस्रो मुलुकको बजार राम्रो भए पनि भारतमा भने नेपाली चियाको बजार राम्रो नभएको उद्योगीको भनाइ छ । 

यता मेची भन्सार कार्यालय काँकडभिट्टाको तथ्याङ्क अनुसार गएको आर्थिक वर्ष २०८०/८१ मा तीन अर्ब १६ करोड ३८ लाख रुपियाँ मूल्य बराबरको चिया निकासी भएको छ । एक करोड ३४ लाख ३३ हजार ८५८ किलो चिया निकासी भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।