रवीन्द्र उप्रेती
बर्दीबास, साउन १० गते । विगत केही समयदेखि सागरनाथ वन विकास परियोजनाका जङ्गलमा काठ तस्कर र वनकर्मीबिचको सङ्घर्ष बढ्दै गएको छ । काठ तस्करको सङ्गठित गिरोहका कारण रातको समयमा पनि वन क्षेत्र अशान्त हुँदै गएको छ भने गिरोह र वनकर्मीबिच झडप र घम्साघम्सीका घटना पनि बढिरहेकाले वन संरक्षणमा अनेकन् समस्या र चुनौती थपिएको वनकर्मीले जनाएका छन् ।
मङ्गलबार मध्यराति गौशाला–१२, लक्ष्मीनियास्थित परियोजनाको स्टिल टावर उत्तरको ७ नं. ब्लक र अघिल्लो दिन गौशाला–८, कुसुमाडीको प्लट नं. ३ नजिकको ‘ग्रिन बेल्ट’ मा भएका त्रासदीपूर्ण घटनाले वनजङ्गलको सुरक्षालाई चुनौतीपूर्ण बनाएको हो । माईस्थानस्थित परियोजनाको हात्तीलेट वन व्यवस्थापन शाखा प्रमुख विधासागर कर्णका अनुसार राति करिब २.३० बजेतिर उत्तरतर्फको ग्रिन बेल्टमा दुई वटा बत्ती बलेको देखेपछि रेन्जर रोहित चौधरीको कमान्डमा खटिई गएको ११ जना परियोजनाकर्मीको टोलीले एरिया घेराबन्दी गरी खोजी गर्दा शङ्कास्पद अवस्थामा बा.५ च ४३१ नं. को बोलेरो गाडी फेला पारेको थियो । बोलेरोको तलासी लिँदा त्रिपालले छोपेको करिब ५५ क्युफिट साल जातका १६ थान काठ देखिएपछि गस्तीमा रहेका परियोजनाकर्मीले स्थितिको गम्भीरता बुझेका थिए । सोही समयतिर जङ्गली क्षेत्रको बाटो हुँदै दक्षिणबाट केही मोटरसाइकल हुइकिँदै उत्तरतर्फ लागेपछि मध्यरातको बेला त्रास र संशय थपेको गस्तीमा रहेका परियोजनाकर्मीले जनाउनुभयो । गस्ती कर्मचारीको बाक्लो उपस्थिति देखी काठ तस्करले बोलेरो ‘लक’ गरी भागेका थिए ।
कार्यालय प्रमुख कर्णका अनुसार बोलेरोलाई पूर्वपश्चिम लोकमार्गको सुनसान जङ्गलमा ल्याई पु-याउँदा फेरि एक्सल भाँचिएर गुड्नै नसक्ने अवस्थामा पुग्यो । यतिबेलासम्म सूर्योदय भइसकेको थियो । रातभरको जाग्रामले कर्मचारी थकित थिए । फेरि पनि बिग्रेको गाडी निगरानीका लागि परियोजनाले दुई जना चौकीदारलाई खटाएको थियो ।
त्यसको केहीबेरपछि मोटरसाइकलमा आएका दुई जना काठ तस्करले सुनसान जङ्गलबिच ड्युटीमा रहेका चौकीदारलाई ज्यान मार्नेसम्मको धाकधम्की देखाई चौकीदार श्याम महतोको मोबाइल थुतेर काठ बरामदीका फोटो उडाएको कर्णले जनाउनुभयो । कर्णले भन्नुभयो, “चौकीदार धम्क्याउने दुई जनामध्ये ३४ वर्षीय राजे महतो नामका व्यक्तिलाई पहिचान गरिएको छ । उनीहरूले गाडीको ब्याट्री पनि जबरजस्ती खोलेर लैजान खोजेका थिए ।” लामो प्रयासपछि परियोजनाले काठ र बोलेरो नियन्त्रणमा लिएको छ । अघिल्लो रात पनि परियोजनाकै गौशाला–८, कुसुमाडीको जङ्गलस्थित प्लट नं. ३ मा काठ तस्कर र वनकर्मीबिच घम्साघम्सी पर्दा तीन जनालाई नियन्त्रणमा लिइएको थियो । राति करिब १० बजेतिर फरेस्टर उपाध्यायको कमान्डमा खटिई गएको गस्तीले चार वटा साइकलमा दुई थान सालको काठ चोरी गरी लैजाँदै गरेको अवस्थामा पक्राउ गर्न खोज्दा समाउने, लखेट्ने, उम्कने जस्ता हर्कतले परियोजनाको वन तनावग्रस्त क्षेत्र झैँ भएको थियो ।
झडपकाबिच परियोजनाकर्मीले गौशाला–८, भन्टाबारीका अभिषेक साह, रामकिसुन महतो र रामबाबु शर्मालाई नियन्त्रणमा लिनुका साथै ४.५८ क्युविक फिट सालका काठ र चार थान साइकल बरामद गरेको परियोजनाको हात्तीलेट वन व्यवस्थापन शाखाले जनाएको छ । दोहोरो झडपछि दुवै ठाउँबाट करिब ५८ क्युफिट सालजातको १८ थान काठसहित तीन जना तस्कर, चार थान साइकल र एउटा बोलेरो पिकअप नियन्त्रणमा लिएको माईस्थानस्थित परियोजनाका हात्तीलेट वन व्यवस्थापन शाखा प्रमुख कर्णले जनाउनुभयो । पक्राउ परेका तिनै जनालाई माईस्थान सबडिभिजन कार्यालयले न्यायिक हिरासतमा राखी वन ऐन अनुसार कारबाही अगाडि बढाएको सबडिभिजन प्रमुख कृष्णकान्त पटेलले जनाउनुभयो ।
 
                                
                             
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                