• १० साउन २०८१, बिहिबार

खोटाङको पेलुङमा अस्थायी प्रहरी चौकी स्थापना

blog

खोटाङ,  साउन १० गते । समाजमा शान्ति, सुव्यवस्था कायम गर्ने उद्देश्यले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडास्थित पेलुङमा अस्थायी प्रहरी चौकी स्थापना भएको छ । 

अस्थायी प्रहरी चौकीमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा छजनाको टोली खटाइएको खोटाङ जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले बताउनुभयो । 

निर्मलीडाँडाको व्यापारिक केन्द्र पेलुङमा अस्थायी प्रहरी चौकी स्थापना भएसँगै निर्मलीडाँडा र बाँझेच्यानडाँडाका बासिन्दाले शान्ति, सुरक्षाको महसुस गरेका वडाध्यक्ष दिनेशकुमार कठेतले बताउनुभयो । 

मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–भाजपुर सडकखण्डको पेलुङमा स्थापना गरिएको प्रहरी चौकी बुधबार प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले उद्घाटन गर्नुभयो । कार्यक्रममा जिल्लास्थित तीनवटै सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधि, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, शिक्षक, वुद्धिजीवी, समाजसेवी, स्थानीय बासिन्दाको उपस्थिति थियो ।  

सोही कार्यक्रममा प्रहरी चौकी भवन निर्माणका लागि स्थानीय समाजसेवी केशरमान राई र अर्थमान राईले दुई÷दुई रोपनी जग्गा उपलब्ध गराउनुभएको हो । जग्गादाता राईद्वयलाई सम्मान गरिएको थियो । 

दश स्थानीय तह रहेको खोटाङमा निर्मलीडाँडासँगै २३ स्थानमा प्रहरी चौकी स्थापना भएका छन् । दुई नगरपालिका र आठ गाउँपालिकाको ७९ वडा रहेको जिल्लामा जिल्ला प्रहरी कार्यालय, छवटा इलाका प्रहरी कार्यालय, तीनवटा विमानस्थल सुरक्षा गार्ड, पाँचवटा अस्थायी प्रहरी सहायता कक्ष तथा एक पर्यटक प्रहरी सहायता कक्ष सञ्चालनमा छन् । रासस