• १० साउन २०८१, बिहिबार

बबरमहलमा तीन देशका महिला कलाकार

blog

काठमाडौँ, साउन १० गते । बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा नेपाल, भारत र बङ्गलादेशका महिला कलाकारका चित्रकला तथा मूर्तिकलाको अन्तर्राष्ट्रिय प्रदर्शनी बुधबारबाट सुरु भएको छ । प्रदर्शनीमा प्रेम, खुसी, जनजीवन, प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, महिला अनुभूति, भाव, संवेदना झल्कने सयभन्दा बढी चित्रकला र मूर्तिकला देख्न सकिन्छ । 

प्रदर्शनीमा नेपालका १४ कलाकारको सहभागिता छ । प्रदर्शनीमा भारतका २७ र बङ्गलादेशका १२ कलाकारका चित्रकला राखिएका छन् । कलाकार प्रतिभा पोखरेलले क्यानभास कलामा ओरिगामी कलाको संयोजन गर्नुभएको छ । भारतबाट सहभागी कलाकार पियाली गाङ्गुलीले ग्रामीण बालबालिकाको खुसी र भँगेराको प्रेमलाई क्यानभासमा सजाउनुभएको छ । 

भारतीय कलाकार विथिका दत्तले सेरामिक माध्यममा महिला संवेदना, मर्म र महिमा भाव व्यक्त गर्ने मूर्तिलाई अर्धमूर्त शैलीमा प्रस्तुत गर्नुभएको छ । कलाकार मौमिता घोषले महिलालाई देवीका रूपमा एव्रmेलिक माध्यममा प्रस्तुत गर्नुभएको छ । प्रदर्शनीमा राखिएका चित्रकलामा वाटर, एव्रmेलिक, मिक्स माध्यमको बढी प्रयोग गरिएको छ । 

चित्रकला धेरै तर प्रदर्शनी स्थल थोरै हुँदा चित्रकला अवलोकनकर्तालाई केही असजिलो हुने अवस्थासमेत छ तथापि तीन देशका महिलाको संयुक्त प्रदर्शनीले महिला कलाकारका काम, भावना र सद्भाव साट्ने स्थलका रूपमा पाँचदिने प्रदर्शनी रहेको छ । प्रदर्शनी साउन १३ सम्म सञ्चालन हुने जनाइएको छ । प्रदर्शनीमा भारतका कृति अवस्थी, पियाली गाङ्गुली, सम्पा गिरी, विथिका दत्त, रुचिरा मजुमदार पाउल, इति भट्टाचार्य, मौमिता घोष, सोम माजी, सोमा वनर्जी, सुमिता आयुव, स्वपना सिन्हा, लिपिका चौधरी, पाली मजुमदार, मोनिदीपा मित्र, छिताली दास, सुदीप्ता दास, देवजनी घोष, जया विश्वास, स्मिति सिन्हा, मौमिता देय मजुमदार, देवजनी घोष, सुकन्या देय, रितुपमा दास, अन्तरा विष्णु, सुजाता दास, देविका साह, रोजिना यस्मिन सहभागी हुनुहुन्छ । 

यस्तै बङ्गलादेशबाट लुबना हविव, हसना हेना परोस, उमि हविवा, डा. सीमा इस्लाम, नासिर अख्तेर निला, कौशल प्रवीण दलिया, सुनिपा इस्लाम, माहिर मानुमा, सादिया सामिन मन्सुर, तस्लिमा अख्तिर मिसु, ताहिया तास्निम, करिश्मा दवेमनी सहभागी हुनुहुन्छ । 

नेपाली कलाकारमा श्रेया हाडा श्रेष्ठ, सुषमा श्रेष्ठ, चाँदनी वज्राचार्य, सरितादेवी मण्डल, सुभाद्री सुवा, आर्या राजभण्डारी, सुस्मिता जिमी, सालिनी पाण्डे, यशोदाकुमारी सिंह, राखी कर्ण, अनुराधा थापा, हिमानी प्रधान, वन्दना कनक र ज्योतिकुमारी सापकोटा कर्ण सहभागी हुनुहुन्छ । भारतका महिला कलाकारको समूह स्प्रेड विङ्स, बङ्गलादेशको घुड्डी काइट टेल्स र नेपालको ललितकला जागरणले संयुक्त रूपमा प्रदर्शनी आयोजना गरेका हुन् ।