• १० साउन २०८१, बिहिबार

दुध बिक्रीबाट मासिक एक लाखभन्दा आय

blog

घोराही, साउन १० गते । दाङको घोराही उपमहानगरपालिका–१३ निवासी रवि घर्ती व्यावसायिक पशुपालनमा लागेको तीन वर्ष भयो । रोजगारीका लागि बाहिर जानुभन्दा आफ्नै ठाउँमा केही गरौँ भनेर तीन वर्षअघि व्यावसायिक कृषिमा लाग्नुभएका घर्तीले साथीसँग मिलेर संयुक्त रूपमा भैँसी, बङ्गुरपालन, हाँसपालनसँगै तरकारी खेती गर्दै आउनुभएको छ । 

घोराही उपमहानगरपालिका–७, घुस्रामा पाँच बिघा जग्गा किनेर व्यावसायिक पशुपालन तथा तरकारी खेती गर्दै आएका घर्तीले दुध बिक्री गरेर मासिक एक लाखभन्दा बढी आम्दानी भइरहेको बताउनुहुन्छ । मेहनत गर्न सके आफ्नै ठाउँमा पशुपालनबाट राम्रो आम्दानी लिन सकिने भन्दै गोरखा बायो फार्मका अध्यक्षसमेत रहनुभएका घर्तीले भन्नुभयो, “व्यवसाय नगरेको भए अहिले खाली बस्नुपथ्र्यो । व्यावसायिक रूपमा भैँसी तथा बङ्गुरपालन गरेपछि राम्रै आम्दानी भइरहेको छ ।” उहाँले रोजगारीका लागि दिनहुँ युवा जनशक्ति विदेशिएको समयमा भैँसीपालन गरेर राम्रै आम्दानी भइरहेको बताउनुहुन्छ ।  

उहाँका अनुसार फार्ममा साना ठुला गरेर अहिले १८ वटा भैँसी, २५ वटा बङ्गुर, हाँसलगायत रहेका छन् । १८ वटा भैँसीमध्ये चार वटा भैँसीले दुध दिने र त्यसैबाट महिनामा एक लाख रुपियाँभन्दा बढी कमाइ गर्दै आएको घर्ती बताउनुहुन्छ । 

उत्पादन गरेको दुध घरबाटै बिक्री हुने गरेको भन्दै उहाँले भन्नुभयो, “उत्पादन गरेको दुध बिव्रmीमा समस्या छैन । फार्मबाटै स्कुल तथा डेरीमा जाने गरेको छ ।” दैनिक अहिले दैनिक ४५–५० लिटरसम्म दुध बिक्री भइरहेको भन्दै उहाँले फार्ममा कम्तीमा ४० वटा भैँसी र केही जर्सी गाईसमेत थप गर्ने योजनामा रहेको बताउनुभयो । बजारको मागसँगै प्रशस्त मात्रामा घाँससँगै पानीको व्यवस्था भएकाले दुध उत्पादनलाई प्राथमिकता दिइएको घर्ती बताउनुहुन्छ । उहाँका अनुसार दुध ७० रुपियाँ लिटर बिक्री हुने गर्दछ । 

दुध उत्पादनका लागि भैँसीसँगै मासुका लागि बाख्रा, बङ्गुर, हाँस र व्यावसायिक तरकारी खेतीलाई पनि अघि बढाउने तयारी रहेको अर्का सञ्चालक खुसीराम चौधरी बताउनुहुन्छ । त्यसका लागि थप संरचना निर्माण गर्ने तयारीमा रहनुभएको छ । दुध उत्पादनसँगै मासु उत्पादनका लागि बाख्रा र बङ्गुरपालनलाई बढाउने उद्देश्य रहेको भन्दै सञ्चालक चौधरीले भन्नुभयो, “अहिलेको संरचनालाई बढाउने र त्यसैमा थप भैँसी र बाख्रापालन गर्ने उद्देश्य रहेको छ ।”