• ९ साउन २०८१, बुधबार

पदक विजेता खेलाडीलाई जमुनाहा नाकामा स्वागत

blog

पदक जितेर फर्किएका खेलाडीलाई जमुनाहा नाकामा स्वागत गर्दै खेलाडीहरू । तस्बिर : गोरखापत्र

सिराज खान 

नेपालगन्ज, साउन ९ गते । काजकिस्तानमा सम्पन्न भएको ११औँ अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ च्याम्पियनसिपमा स्वर्ण र रजत पदक जितेर फर्किएका बाँकेका दुई जना खेलाडीलाई जमुनाहा नाकामा स्वागत गरिएको छ । 

१५ जुलाईदेखि १९ जुलाईसम्म सञ्चालन भएको सो अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ प्रतियोगितामा नेपालगन्जका खेलाडी करण बाडियाले ६० केजीमा दुई वटा स्वर्ण र मोहित गुप्ताले ६८ केजीमा  रजत र एउटा कांस्य पदक जित्नुभएको थियो । 

पदक जितेर भारतको बाटो भएर फर्किनुभएका दुबैजना खेलाडीलाई नेपालगन्जस्थित विभिन्न जिमका खेलाडीहरूले जमुनाहा नाकामा भव्य स्वागत गर्नुभएको रजत पदक विजेता खेलाडी मोहित गुप्ताले बताउनुभयो । 

उहाँले पहिलो पटक यसरी अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएर पदक जित्न पाएकोमा निकै गौरवको अनुभूति भइरहेको जनाउँदै स्ट्रेन्थ लिफ्टिङमा नेपाली खेलाडीहरूलाई पदक जित्ने राम्रो अवसर रहेको बताउनुभयो । 

अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ च्याम्पियनसिपमा नेपालको लागि पदक जितेर फर्किने क्रममा भारतका लागि नेपाली दूतावासले पनि दिल्लीमा एक कार्यक्रम गरेर विजेता खेलाडीहरूलाई स्वागत सम्मान गरेको थियो । 

खेलाडी गुप्ताका अनुसार नेपालका लागि पदक प्राप्त गर्ने खेलाडीहरू केदारेश्वर मान, सानु कान्छा लामा, अमर लामा, अमृता खडका शेर्पा, करण बाडिया र आफूलाई भारतका लागि नेपालका राजदूत शङ्करप्रसाद शर्मा, नियोगका उपप्रमुख सुरेन्द्र थापा लगायतले स्वागत सम्मान गर्नु भएको थियो ।  

नेपालका लागि ठुलो मात्रामा पदक जितेर राष्ट्रको इज्जतलाई संसारभर उच्च राख्न सफल भएतापनि अधिकांश खेलाडीले आफ्नै खर्चमा प्रतियोगितामा भाग लिएको दुखेसो नेपालगन्जका खेलाडी मोहित गुप्ताको छ । 

उहाँले थप्नुभयो–“आशा गरौँ अन्तर्राष्ट्रिय स्तरमा राष्ट्रिय गौरवलाई उच्च राख्ने हामी खेलाडीहरूलाई नेपाल सरकारले न्यायपूर्ण रूपमा सम्बोधन गर्ने छ ।”