• ९ साउन २०८१, बुधबार

कृषिमा रमाउँदै भोजपुरका दीपक, वार्षिक १५ लाख आम्दानी

blog

भोजपुर,  साउन ९ गते । कृषि व्यवसाय गरेर भोजपुरका ३४ वर्षीय दीपक श्रेष्ठले लोभलाग्दो आम्दानी गर्दै आउनुभएको छ । दश वर्षअघि कृषि कर्ममा लाग्नुभएका उहाँले उदाहरणीय उद्यमीको परिचय बनाउनुभएको छ । 

स्वदेशमा नमूनायोग्य काम गर्ने अठोटका साथ १० वर्षअघि कृषिमा लाग्नुभएका उहाँले भोजपुर नगरपालिका–१२ टक्सारमा व्यवसाय सञ्चालन गरेर वार्षिक रु १५ देखि १८ लाखसम्म आम्दानी लिने गरेको बताउनुभयो । लगनशील भएर काम गरे पैसा कमाउन विदेश जानु नपर्ने उहाँ बताउनुहुन्छ । 

 उद्यमी श्रेष्ठले व्यावसायिक रूपमा कुखरा, बङ्गुर, माछापालनसँगै केराखेती पनि गरिरहनुभएको छ ।व्यवसायका लागि हालसम्म रु एक करोड हाराहारीमा लगानी गरेको बताउनुभयो । कृषिलाई व्यवसायका रूपमा अँगाल्न  गाउँका युवालाई  प्रेरित गर्दै उहाँले सीप पनि सिकाउँदै आउनुभएको छ । 

 राज्यले अनुदानका कार्यक्रम सञ्चालन गर्दा वास्तविक किसानसम्म पुग्नुपर्ने उहाँले बताउनुभयो । पहँुचका भरमा कतिपय अनुदानका कार्यक्रम सञ्चालन गरिँदा वास्तविक किसान मारमा पर्ने उहाँको बुझाई छ । कृषिमा उदाहरणीय काम गरिरहेको भए पनि हालसम्म राज्यबाट कुनै सहयोग नपाएको उहाँको दुखेसो छ  । 

आफ्नै फार्मबाट उत्पादन भएको मलको सदुपयोग गर्दै व्यावसायिक केराखेती पनि गरिरहेको उहाँले बताउनुभयो । भोजपुर टक्सारमा अजिमा कृषि तथा पशुपालन फार्ममा दुई सय बोट केरा लगाएको उहाँले बताउनुभयो । यसलाई विस्तार गर्ने उहाँको लक्ष्य छ । हाल उहाँले एक स्थानमा बङ्गुरपालन, पाँच स्थानमा व्यावसायिक कुखुरापालन र दुईवटा पोखरीमा माछापालन गरिरहेको बताउनुभयो  । 

उत्पादित मलको सदुपयोग गर्दै व्यावसायिक सुन्तला, कागती र तरकारीखेती गर्ने योजना उहाँले सुनाउनुभयो । खेती विस्तारका लागि उहाँले २० रोपनी जग्गा भाडामा लिनुभएको छ । व्यवसायी श्रेष्ठले छजनालाई  रोजगारी पनि दिनुभएको छ । “कृषिकर्म गर्ने दक्ष जनशक्ति पाउन समस्या छ । लगनशील भएर कृषिमा लाग्ने हो भने यही मनग्य कमाउन सकिन्छ, युवापुस्तामा आफ्नो ठाउँमा मेहनत गर्ने बानी हराउँदै गएको छ ”, उहाँले भन्नुभयो । रासस