• ९ साउन २०८१, बुधबार

यातायात अवरुद्ध हुँदा सास्ती

blog

साधन घर्ती 

म्याग्दी (दरबाङ), साउन ९ गते  । म्याग्दीका मुख्य सडकमध्ये बेनी–जोमसोम र बेनी–दरबाङ सडकमा सिधा यातायात अवरुद्ध हुँदा नागरिकले सास्ती बेहोर्नु परेको छ । सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण बेनी–जोमसोम सडक अन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ स्थित कुनौटो क्षेत्रमा कालीगण्डकी नदीले कटान गरेर सडक भासिएपछि अवरुद्ध बनेको हो । 

कुनौटोमा नयाँ पहिरो र कटानको समस्या सिर्जना भएको हो । यो पहिरोको कारण करिब १० घरधुरी रहेको बरखर्क बस्ती जोखिममा परेको छ । यसै गरी बेनी–दरबाङ सडक अन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतमा पहिरो खसेपछि सिधा यातायात अवरुद्ध भएको हो । असार ३१ गते बिहान उक्त सडक अन्तर्गत सडक आइतबार साँझ खुलाइएको भए पनि सोमबार बिहान पहिरोले पुनः सडक अवरुद्ध भएको थियो । पहिरो पन्छाएर र मर्मत गरेर अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी राजन रायमाझीले जानकारी दिनुभयो । 

बेनी–दरबाङ सडकमा सिधा यातायात अवरुद्ध जिल्लाका धवलागिरि, मालिका र मङ्गला गाउँपालिकासहित छिमेकी जिल्ला बागलुङको पश्चिम भेगका नागरिकले समेत सास्ती बेहोर्नु परेकोे छ । बेनी–जोमसोम सडकमा सिधा यातायात अवरुद्ध हुँदा म्याग्दीका रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकासहित छिमेकी मुस्ताङका नागरिक मर्कामा परेका छन् । फापरखेत पहिरोले यात्रुसँगै यातायात व्यवसायी पनि मर्कामा परेको यातायात व्यवसायी सुमन पुनले बताउनुभयो । निर्माण र खाद्य सामग्री ढुवानीमा समेत समस्या भएको छ । बेनी–जोमसोम सडक अन्तर्गत म्याग्दी खण्डमा राहुघाट, चमेरे, बैसरी, सिरुबारी, बेगखोला, महभिर, नौलीबगर, गुइँठेभिर, खामभित्ता, लाटोखोला, रुप्से, घाँसाको खहरेखोला, कैह्कुखोला, लेते क्षेत्रमा ठुला पहिरो छन् । अवरुद्ध सडकखण्डमा वैकल्पिक मार्ग नहुँदा पैदलयात्रा गर्न र यातायातका सवारीसाधन सञ्चालनमा समस्या भएको छ । 

त्यस्तै बर्सातको समयमा जिल्लाका अधिकांश ग्रामीण सडक अवरुद्ध हुने गरेका छन् । सडकमा खाल्टाखुल्टी हुनुका साथै हिलोका कारण जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको मालिका गाउँपालिका–६ का तिलक ढकालले बताउनुभयो । भिरालो र कमजोर भूगोलका कारण म्याग्दीमा बर्सातको समयमा बाढीपहिरोका कारण जिल्ला सदरमुकाम बेनी जोड्ने मुख्य सडकसहित ग्रामीण सडक अवरुद्ध हुने गरेको म्याग्दीका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताउनुभयो । अवरुद्ध मुख्य सडक खुलाउन तत्काल प्रयास थालिएको उहाँले बताउनुभयो ।