• ८ साउन २०८१, मङ्गलबार

‘लोडसेडिङ छैन, बत्ती पनि आउँदैन’

blog

विद्युतमा देखिएका समस्याविरुद्ध सडकमा टायर बालेर आन्दोलन गर्दै स्थानीय ।

मीना कंडेल

कावासोती, साउन ८ गते । पूर्वी नवलपरासीमा सूचनाबिना विद्युत् जाँदा स्थानीय उपभोक्ता समस्यामा परेका छन् । दैनिक २० पटकसम्म विद्युत् ट्रिपिङ (झ्याप्प–झ्याप्प विद्युत् कटौती) हुँदा विद्युतीय उपकरण बिग्रने गरेको स्थानीयको गुनासो छ ।

गैँडाकोटका स्थानीयले विद्युतमा देखिएको समस्याविरुद्ध मगंलबार चक्काजाम समेत गरेका छन् । नेपाल विद्युत प्राधिकरण गैँडाकोट शाखा अगाडि पूर्व–पश्चिम राजमार्गमा टायर बालेर करिब आधा घण्टा चक्काजाम गरेका हुन् । 

स्थानीय गोकुल सापकोटाले जिल्लावासीले दैनिक २० पटकभन्दा बढी विद्युत् ट्रिपिङको समस्या खेप्नुपरेको हुँदा नगरवासीलाई समस्या भएकाले चक्काजाम गरी सडकमा नै उत्रनुपरेको बताउनुभयो । झ्याप्प बत्ती जाने र आउने गर्दा  कहिले कम तथा कहिले अधिक भोल्टेजका कारण पङ्खा, फ्रिज, मोटरलगायतका विद्युतीय उपकरण बिग्रने गरेको उहाँले बताउनुभयो । 

विनासूचना विद्युत कटौती गर्दा जिल्लाको गैँडाकोट, देवचुली, कावासोती, लगायतका नगरपालिकामा रहेका होटल, डेरी, औषधी लगायतका उद्योगी व्यवसायी मर्कामा परेको, विद्यार्थी पढ्न समेत नपाएको नागरिक प्रभावित बन्दै गएपछि बाध्यताले आन्दोलनमा उत्रनुपरेको बताउनुभयो ।   

गैँडाकोटका स्थानीय गोविन्द रिमालले बिनासूचना विद्युत् जाँदा समस्या भएको बताउनुभयो । उहाँले भन्नुभयो, “लोडसेडिङको तालिका पनि छैन, अहिले कुन बेला बत्ती जाने हो, कुन बेला आउने हो पत्तै हुँदैन । यसको मार विद्युतीय उपकरणमा परेको छ ।” 

बत्ती जाने र आउने समयको कुनै ठेगान नभएपछि मोबाइल चार्ज हुन नपाएको स्थानीयको गुनासो छ । कावासोतीका स्थानीय शारदा सापकोटाले पनि विनासूचना विद्युत कटौतीले विद्युतीय उपकरण बिग्रेको बताउनुभयो । 

अहिले गर्मी महिनामा विद्युतको माग अत्यधिक हुने भए पनि विद्युत् प्रवाह हुने रुट (प्रसारण लाइन) को क्षमता थोरै हुँदा उपभोक्ताले ट्रिपिङको समस्या झेल्नुपरेको नेपाल विद्युत प्राधिकरण कावासोती वितरण केन्द्रका प्रमुख सूर्यनारायण मण्डलले बताउनुभयो ।  उपभोक्ताको समस्या आफूहरूले बुझे पनि जिल्लाबाट समस्या समाधान गर्न सम्भव नभएकाले केन्द्रसँग समन्वय गरिरहेको बताउनुभयो । 

अहिले मागभन्दा आपूर्ति कम भइरहेको छ । ट्रान्समिसन लाइन पर्याप्त नभएपछि साँघुरो रुटमा थोरैमात्र विद्युत् प्रवाह हुँदा जिल्लामा आपूर्तिभन्दा विद्युत माग बढी हुँदा ट्रिपिङको समस्या देखिएको बताउनुभयो ।

गैँडाकोट क्षेत्रमा  मर्मतका लागि २४ घण्टा कर्मचारी खटाउने, एक साताभित्र विनासूचना विद्युत जाने समस्या समाधान गर्ने र असोजभित्र मजबुत लाइन गैँडाकोटभित्र पूर्ण सञ्चालन गर्ने सहमति भएपश्चात् आधा घण्टापछि चक्काजाम हटाइएको गैँडाकोट –२ का वडाध्यक्ष प्रकाश सापकोटाले जानकारी दिनुभयो ।