• ६ साउन २०८१, आइतबार

प्रधानमन्त्रीमा ओलीको नियुक्ति विवादको रिट संवैधानिक इजलासमा पठाउन आदेश

blog

काठमाडौँ, साउन ६ गते । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्ति विवादको रिट संवैधानिक इजलासमा पठाउन आदेश दिएको छ ।

आइतबार सर्वोच्चका न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले सो रिटमा सुनुवाइ गर्दै संवैधानिक इजलासमा पठाउने आदेश दिएको हो ।

‘प्रस्तुत रिट निवेदनमा उठाइएको विषयवस्तु गम्भीर संवैधानिक व्याख्याको प्रश्न सन्निहित रहेको र सोको निरूपण संवैधानिक इजलासबाट हुनुपर्ने प्रकृतिको देखिँदा सर्वोच्च अदालत (संवैधानिक इजलास सञ्चालन) नियमावली, २०७२ को नियम १७ (२) (क) बमोजिम प्रधानन्यायाधीशसमक्ष पेस गर्नू ।’’ आदेशमा उल्लेख छ ।

गत असार २८ गते पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्न नसक्नुभएपछि राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) बमोजिम नयाँ सरकार गठनको आह्वान गर्नुभएको थियो ।

सोही अनुसार नेपाली कांग्रेस र नेकपा (एमाले) सहितको दलको समर्थनमा एमाले संसदीय दलका नेता ओली प्रधानमन्त्री नियुक्त हुनुभएको थियो ।

कानुन व्यवसायी कीर्तिनाथ शर्मा पौडेल, दीपक अधिकारी र विजय हमालले धारा ७६ (२) बमोजिम नियुक्त प्रधानमन्त्री प्रचण्डले विश्वासको मत नपाएपछि अर्को सरकार धारा ७६ (३) बमोजिम गठन हुनुपर्नेमा राष्ट्रपतिले धारा ७६ (२) बमोजिम गठन गरेको भन्दै सर्वोच्चमा छुट्टाछुट्टै रिट दायर गर्नुभएको हो ।