• ६ साउन २०८१, आइतबार

वर्तमान गठबन्धन विकल्प खोज्ने प्रवृत्तिको उपज हो : एमाले सचिव विष्ट

blog

आइतबार सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा बसेको प्रतिनिधिसभा बैठकमा मन्तव्य राख्नुहुँदै (एमाले)का सांसद गोकर्णराज विष्ट । तस्बिरः किरणराज विष्ट/रासस

काठमाडौँ, साउन ६ गते । नेकपा (एमाले)का सचिव गोकर्ण विष्टले वर्तमान सरकार कुन काँध नरम छ भन्दै विकल्प खोज्ने प्रवृत्तिको उपज भएको बताउनुभएको छ ।

आइतवार प्रधानमन्त्री केपी शर्मा ओलीलेको पक्षमा समर्थन गर्दै सचिव विष्टले यस्तो बताउनुभएको हो । उहाँले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बारम्बार सत्ताका लागि काँध फेर्ने प्रवृत्तिका कारण नयाँ गठबन्धन बनेको बताउनुभयो । 

उहाँले एमाले र काँग्रेसले काँध थापिरहँदा पनि नरम काँध खोज्ने प्रवृत्तिले उपज नै नयाँ गठबन्धन भएको बताउनुभयो ।

सचिव विष्टले बाघको छालामा स्यालको रजाईं गर्ने कुराले कोल्टो फेरेको बताउनुभयो । उहाँले वर्तमान गठबन्धन कतिपयको लागि चार दिनको चाँदनी फेरि अँधेरी भएको हुनसक्ने समेत बताउनुभयो। 

उहाँले अहिलेको नेपाली राजनीतिमा आफू सरकारमा हुँदा मात्र लोकतन्त्र जोगिने र आफू बाहिर हुँदा खतरामा हुने भन्ने मान्यता स्थापित हुँदै गएको बताउनुभयो । 

उहाँले पूर्वप्रधानमन्त्री दाहालले सरकारबाट बाहिरिने बित्तिकै लोकतन्त्र खतरामा परेको भन्दै गरेको प्रचारमा कुनै तर्क नरहेको दाबी गर्नुभयो । 

उहाँले भन्नुभयो,‘‘रातमा वा दिनमा जुनसुकै बेला भएको सहमति भएपनि देशको समस्या समाधान गर्छ भने रात र दिनको प्रश्न उठाएर वर्तमान गठबन्धनप्रति अविश्वास गर्नुपर्ने कुनै कारण छैन । यो गठबन्धन कहिले यो काँधमा कहिले त्यो काँधमा हुने, दुवै काँधले थामिरहेको छ । काँध थाप्दा थाप्दा थाकि रहनेहरुले काँध थापिरहँदा पनि यो काँधभन्दा त्यो काँध नरम छ कि त्यो काँधभन्दा यो काँध नरम छ । नरम काँध खोज्दै खोज्दै काँध बदल्ने प्रवृत्तिको उपज हो । वर्तमान गठबन्धन । अरु केही भएको छैन । बाघको छालामा स्यालको रजाइँ गर्ने कुराले कोल्टो फेरेको छ । त्यति मात्रै भएको छ । कतिपयको लागि चार दिनको चाँदनी फेरि अँधेरी भएको हुनसक्छ । देश ठिक ढङ्गले अघि बढेको छ ।’’

उहाँले काँग्रेस–एमाले गठबन्धनले लुकेर संविधान संशोधन गर्न लागेको भन्दै गरेको प्रचारमा कुनै सत्यता नभएको दाबी गर्नुभयो । उहाँले संविधान संशोधन लुकेर नगरिने बताउनुभयो ।