• ६ साउन २०८१, आइतबार

एक हजार आठसय खाद्य नमुनाको विश्लेषण

blog

पत्रकार सम्मेलन गरेर वार्षिक प्रगति सार्वजनिक गरिँदै । तस्बिरः अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, साउन ६ गते । क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले गत आर्थिक वर्ष २०८०–८१ मा एक हजार ८०२ खाद्य तथा दानाको नमुना विश्लेषण गरेको छ । 

सो कार्यालयले विभिन्न स्रोतबाट सङ्कलन हुन आएका खाद्य तथा दानाको नमुना विश्लेषण गरेको हो । आज वार्षिक प्रगति समीक्षा गर्दै अनुज्ञापत्र जारी तथा नवीकरणका लागि प्राप्त एक हजार ७०, अनुरोध भइआएका १२५, बजार अनुगमनबाट ऐन बमोजिम निरीक्षकबाट सङ्कलित ९७, अनुसन्धानात्मक ५०८ र विभागबाट प्राप्त आइएलसी नमुना थान दुई गरी एक हजार ८०२ नमुना विश्लेषण गरेको जनाइएको छ । 

यसैगरी, धनगढी कार्यालयबाट १२४ र तीन डिभिजन कार्यालयबाट खाद्य ऐन बमोजिमका ३०४ वटा खाद्य तथा दाना नमुना सङ्कलन गरी कारबाही प्रक्रिया अगाडि बढाइएको खाद्य अनुसन्धान अधिकृत हरिसिंह बोहराले बताउनुभयो । 

खाद्य तथा दाना ऐनअनुरुप सङ्कलन गरिएका नमूनामध्ये प्रतिकूल पाइएका २० प्रतिकूल नमुनाउपर मुद्दा दायर गरिएको जनाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले एक आर्थिक वर्षभरि २२ वटा खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी उजुरी तथा गुनासो सम्बोधन एवम् व्यवस्थापन गरेको छ । 

यसैगरी, वर्षभरि २५४ पटक खाद्य तथा १० पटक दाना उद्योग अनुगमन गरिएको कार्यालय प्रमुख हरेराम प्रधानले जानकारी दिनुभयो । त्यस्तै, दुध, तेल उत्पादन गर्ने उद्योग ३३ पटक, खाद्य बजार २२५ पटक र होटल रेस्टुँरा १५२ पटक अनुगमन गरिएको जनाइएको छ ।