• ६ साउन २०८१, आइतबार

राजघाट आयुर्वेद अस्पताल ४१ वर्षपछि नयाँ भवनमा

blog

राजघाट आयुर्वेद अस्पतालको नयाँ भवन । तस्बिर :हरिप्रसाद कोइराला

हरिप्रसाद कोइराला
उर्लाबारी, साउन ६ गते ।
मोरङको उर्लाबारी–८ स्थित राजघाट आयुर्वेद औषधालय आइतबार नयाँ भवनमा सरेको छ । गोरखापत्र दैनिकले पटक–पटक ‘जीर्ण भवनमा आयुर्वेद औषधालय’ भन्ने शीर्षकमा समाचार छापेको थियो ।

२०४० सालमा बनेको जीर्ण भवन भत्काएर उर्लाबारी नगरपालिकाले नयाँ भवन निर्माण गरेको हो । २०८० वैशाख ११ गते शिलान्यास गरिएको राजघाट आयुर्वेद औषधालयको भवन उद्घाटन गर्नुहुँदै उर्लाबारी नगरपालिकाका नगरप्रमुख गङ्गाप्रसाद खरेलले आयुर्वेदिक उपचार हाम्रो सनातन धर्मसँग जोडिएको बताउनुभयो । नगरमा आफू आएपछि योग र आयुर्वेदलाई प्रभावकारी रुपमा कार्यान्वयन गरिरहेको नगर प्रमुख खरेलले बताउनुभयो ।

राजघाट आयुर्वेदिक औषधालय सञ्चालक समितिका अध्यक्ष एवम् वडा नं. ८ का वडाध्यक्ष कुलबहादुर कार्कीको सभापतित्वमा भएको कार्यक्रममा उपप्रमुख मीना पौडेल र प्रमुख प्रशासकीय अधिकृत राजकुमार केसी लगायतले आयुर्वेदिक उपचारको आवश्यकता र उपयोगिताका विषयमा प्रष्ट पार्नुभयो ।

७५ लाख २९ हजार ७५१ रुपियाँ ९२ पैसामा कि नोट कन्लटेन्ट एण्ड विल्र्डसले निर्माण गरेको औषधालयमा ६ वटा कोठा छन् । १ कट्ठा ५ धुर जग्गामा बनेको भवनमा हाल चार जना जनशक्तिले सेवा प्रदान गरिरहेको कार्यालय प्रमुख मानबहादुर वनेमले जानकारी दिनुभयो । राजघाट औषधालय विराटनगर बाहिरको एकमात्र सरकारी आयुर्वेद अस्पताल हो ।