• ६ साउन २०८१, आइतबार

मल–बीउ किसानले समयमा पाउने : कृषिमन्त्री अधिकारी

blog

कार्यक्रममा सम्बोधन गर्नुहुँदै मन्त्री अधिकारी ।

मुरारी अधिकारी

धादिङ, साउन ६ गते । अब किसानले समयमा नै मल र बीउ पाउने कृषि तथा पशुपन्छीमन्त्री रामनाथ अधिकारीले बताउनुभएको छ । किसानले सहजै मल पाउने वातावरण नबनेसम्म कृषिमा विकास नहुने नवनियुक्त मन्त्री अधिकारीको भनाइ छ ।

बहुदलीय व्यवस्था आएपछि पहिलो पटक नेपाली काँग्रेसका तर्फबाट मन्त्री बन्नुभएका अधिकारीलाई काँगेस धादिङलगायत जिल्लाका नागरिक समाजले सम्मान गरेका छन् । सम्मान कार्यक्रममा अधिकारीले १० किलो मल लिनलाई नागरिकता लिएर लाइन बस्नुपर्ने बाध्यतालाई अन्त्य गर्न आफूले निर्देशन दिइसकेको बताउनुभयो । 

आगामी दिनमा किसानले सहजै मलवीउ पाउने वातावरण बनाउन आफूले अध्ययन गरेर काम गर्ने बताउनुभयो । मन्त्री अधिकारीले व्यावसायिक र प्रतिस्पर्धात्मक कृषि प्रणालीको विकासलाई अघि बढाउन सकिन्छ भन्ने विषयमा ध्यान केन्द्रित भएको बताउनुभयो । 

कृषि पेशालाई सम्मानजनक र आकर्षक पेशाको रुपमा विकास गर्न कृषि शिक्षा, अनुसन्धान र प्रचार प्रसारको लागि ध्यान दिनु आवश्यक रहेको उहाँले बताउनुभयो । कृषियोग्य भुमिको सदुपयोग, रासायनिक तथा जैविक मलको माग, भइरहेको मलको अभाव, कृषिमा उपकरण, यान्त्रिकीकरण लगायतका विषयमा अध्ययन गरेर आफूले काम गर्ने प्रतिबद्धता जनाउनुभयो । 

यस्तै, नवनियुक्त कृषि तथा पशुपक्षी विकासमन्त्री अधिकारीले नागरिकको स्वास्थ्यलाई प्रतिकूल असर पर्नेगरी भइरहेको विषादी प्रयोगलाई निरुत्साहित गर्ने बताउनुभयो । तरकारीमा प्रयोग हुने विषादी प्राणघातक भएकाले कसैले पनि प्रसय दिन नहुने धारणा राख्नुभयो । 

मन्त्री अधिकारीले यसको न्यूनीकरणका लागि सरकारले काम गर्ने बताउनुभयो । सरकारले घोषणा गर्ने तर कार्यान्वयन चरणमा नजाने काम आगामी दिनमा नहुने प्रतिबद्धता अधिकारीले व्यक्त गर्नुभयो ।