• ६ साउन २०८१, आइतबार

राहदानी बनाउनेको सङ्ख्या घट्यो

blog

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङ । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक
ताप्लेजुङ, साउन ६ गते ।
ताप्लेजुङमा राहदानी (इ–पासपोर्ट) बनाउनेको सङ्ख्या घटेको छ । आर्थिक वर्ष २०८०/०८१मा ताप्लेजुङमा राहदानी बनाउनेको सङ्ख्या घछेको  जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् सहायक प्रमुख जिल्ला अधिकारी टङ्कबहादुर भट्टराईका अनुसार गत आवमा तीन हजार ५०१ जनाले राहदानी बनाएका छन् । उक्त सङ्ख्यामध्ये तीन हजार १३९ जनाले जिल्लाबाटै बुझ्नेगरी राहदानी बनाएका सहायक प्रजिअ भट्टराईले जानकारी दिनुभयो ।

यस्तै, द्रुत सेवाअन्तर्गत काठमाडौँबाट राहदानी बनाउनेगरी ३६२ जनाले जिल्ला प्रशासन कार्यालयबाट सिफारिस लगेका छन् । यता राहदानी बनाउने अधिकांश युवा पुस्ता भएका पनि प्रशासन कार्यालयले जनाएको छ । युवा पुस्ताले वैदेशिक रोजगारीमा जानलाई राहदानी बनाएका पाइएको छ ।

गत आवभन्दा अघिल्लो आवमा ताप्लेजुङमा एक हजार ५०० बढीले राहदानी बनाएका थिए । जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७९/८० मा कुल पाँच हजार १७९ जनाले राहदानी बनाएका थिए । सो सङ्ख्यामध्ये चार हजार ५५७ जनाले जिल्लाबाट बुझ्नेगरी र ६२२ जनाले काठमाडौँबाट बुझ्नेगरी सिफारिस लगेका थिए ।