• ६ साउन २०८१, आइतबार

खेल पर्यटनका लागि खेलकुद मेला

blog

खिल्हा पर्व शुरु भएको दिनमा घोडामा सवार रोवाहरु । तस्विरः अमृतप्रसाद पौडेल

अमृतप्रसाद पौडेल

म्याग्दी, साउन ६ गते । हिमालपारिको जिल्ला मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनुका साथै आफ्नो संस्कृतिको जगेर्नाका लागि खेलकुद मेला सुरु भएको छ ।

मुस्ताङको घरपझोङ गाउँपालिका–३, स्याङगाउँमा शनिबारदेखि सुरु भएको खिल्हा पर्वका अवसरमा खेलकुद मेला समेत सञ्चालन गरिएको हो । मुस्ताङमा बसोबास गर्ने थकाली समुदायले मनाउनेमध्येको महत्त्वपूर्ण खिल्हा पर्वलाई तिब्बती पात्रोअनुसार मनाइने गरिन्छ । तिब्बती पात्रोअनुसार मनाइने भए पनि हिमाली क्षेत्रमा स्थानीय भाषामा साउने मेलाका रूपमा लिने गरिन्छ ।

घरपझोङ गाउँपालिका–३ स्याङका वडा अध्यक्ष फलेन्द्रप्रसाद थकालीले हिमाली क्षेत्रमा भित्र्याउनु पर्ने बर्खेबाली थन्क्याएपछि खेतबारीमा अनाज छरेपछि खिल्हा पर्व मनाउने चलन रहेको बताउनुभयो । यो झण्डै चारसय वर्षभन्दा पहिलादेखि मनाउँदै आइएको धार्मिक तथा सांस्कृतिक प्रचलन रहेको पनि उहाँको भनाइ छ । 

उहाँका अनुसार पर्वको पहिलो दिन गाउँको १६ जना रोवा (मितज्यु) घोडा चढेर समुन्द्री सतहदेखि ४५ सय मिटर उचाइमा अवस्थित स्याङ गाउँभन्दा माथिको लेकमा रहेको चाङफुइ ओडारमा पुग्ने गर्छ । 

पर्वको पहिलो दिन चाङफुइ ओडार पुगेका १६ रोवाले श्रावण पूर्णिमाको तिथिमा त्यहाँ लामा राखेर विधिपूर्वक पूजाआजा गरी पुनः गाउँ फर्किन्छन् । चाङफुई ओडारमा पूजाआजा गरी १६ रोवागाउँ फर्किएपछि खिल्हा पर्वका अन्य गतिविधि सञ्चालन हुने वडाध्यक्ष थकालीको भनाइ छ । 

खिल्हा पर्व अवधिमा गाउँभित्र परम्परागत प्रचलनअनुसार याकनाच र जोगी नाचहरू देखाइने चलन रहेको जिल्ला समन्वय समिति मुस्ताङका उपप्रमुख आइतेलाल थकालीले बताउनुभयो । 

उहाँका अनुसार स्याउँगाउँको धार्मिक तथा सांस्कृतिक पर्व खिल्हा पर्वलाई गाउँले मिलेर पर्यटन प्रवर्धनलाई थप टेवा पुग्नेगरी यस पटक बृहत् खेलकुद मेला सञ्चालन गरिएको बताउनुभयो । 

परम्परागत रूपमा गाउँले मात्र मिलेर मनाइने खिल्हा पर्वलाई यस पटक स्याउगाउँले विभिन्न खेलकुदका कार्यक्रम सञ्चालन गरिरहेको छ । यस पटक खुल्ला भलिबल प्रतियोगिता, खुल्ला आर्चरी प्रतियोगिता, स्थानीय तारा खेल प्रतियोगिता, घोडा दौडलगायतका खेलकुदका गतिविधि पनि समेटिएको थकालीको भनाइ छ ।

शनिबार साउन ५ गतेदेखि सुरु भएको खेलकुद गतिविधि साउन ९ गतेसम्म सञ्चालन हुने जनकल्याण क्लब स्याङका अध्यक्ष सुमन थकालीको भनाइ छ । खेलकुद गतिविधि अन्तर्गत निकै रोमाञ्चक मानिने घोडा दौडाउँदै खादा टिप्ने प्रतियोगिता पनि आकर्षक खेलका रूपमा समावेश गरिएको अध्यक्ष थकालीले बताउनुभयो ।